Nepali Dance
राम कुमार राई
राम कुमार राई नेपाल भाषामा यो नृत्यलाई नागेंचा प्याखँ र नेपालीमा नागेनाथ नाच पनि भनिन्छ । यस नाचमा महादेव अर्थात शिव र पार्वतीको नृत्य हुन्छ । नागेंचा तीन अक्षरबाट बनेको शब्द हो । जुन खिं बाजाको बोलबाट निस्किएको मानिन्छ । खिंको दायाँ भागबाट नाङ्ग र चा अनि गे खिंको बायाँ भागबाट निस्कने बोल हो ।
साधारण अर्थमा नाङ्गो शरीर लिएर प्रदर्शन गरिने नाच नै नागेंचा प्याखँ हो । आधा शरीर नाङ्गो बनाई नृत्य गर्ने एक मात्रै भगवान छन, भगवान महादेव । नाटक, नाच, कथा हेरी पढी सुनी जुन किसिमले आनन्दको अनुभूति हुन्छ । उसैलाई रस भनिन्छ । रस नै यस नागेनाथ नृत्यको आत्मा हो । प्राण तत्व हो । रसको शाब्दिक अर्थ हो आनन्द । योग र तन्त्रमा शरीर भित्रको उर्जा प्रभावित गर्न मुद्राको उपयोग हुने गर्दछ । मुद्रा एक शक्तिशाली यन्त्र हो । यो नागेंचा प्याखँ मुद्रा देखाई नाचिने नाच हो ।
महादेवको अनेक रुप मध्ये नासःद्यः अर्थात नृत्यनाथ पनि एक हो । कसै कसैले नाटेश्वर पनि भन्दछन । अभिनयको सम्बन्ध नाचसँग हुन्छ । नाचसँग बाजा हुन्छ । बाजासँग ताल हुन्छ । गीत बिना नृत्य र नाटक हुनसक्छ तर ताल बिना नाच हुँदैन । यो नागेंचा नाच तालको नाच हो । ताल सँगसँगै सङ्गीतसाग पनि नागेंचा नाच हुन्छ । गीत बिना पनि नृत्य हुन्छ र बाजासँग भाव निकाली नाटक पनि हुन्छ ।
नासः द्यःलाई नृत्य र नाटकमा मात्र सीमित नगराई नवरसको प्रतीक पनि मानिन्छ । नवरसको भाव नृत्य र नाट्यद्वारा पनि व्यक्त हुन्छ । भीषण भाषण दिने, कथा वाचन गर्ने, नाटक देखाउने, चटक देखाउने, गफ मात्र गरी मानिसलाई प्रभावित पार्ने यावत कला जस्ता विधाहरुमा निपूर्ण हुन नासःद्यःको कृपा शक्ति भएको हुनु पर्दछ । संयोग श्रृङ्गारलाई रसको राजा भनिन्छ । वियोग रसलाई रसको रानी मानिन्छ । श्रृङ्गार रसलाई रसराज वा रसपति पनि भनिन्छ । रसको संख्या ९ भएको कारणले नवरस पनि भनिन्छ । श्रृङ्गार, वीर, करुणा, हास्य, भयानक, क्रोध वा रौद्र, विभत्स, अद्भूत र शान्त गरी रसहरु नौ वटा रहेका छन ।
जब शिव पार्वतीबीच मधुर मिलन भई प्रेम हुन्छ । त्यहाँ श्रृङ्गार रस उत्पन्न हुन्छ । जब शिव पार्वती बिच समागम हुन पाउँदैन, शिव पार्वतीको प्रेम वियोगमा परिणत हुन जान्छ । र वियोग श्रृङ्गार उत्पन्न हुन्छ ।
किंवदन्ती र ऐतिहासिक प्रमाण – स्त्री लज्जाको स्वरुप हो । लाजको गहना हो । तर, त्यसको विपरीत पुरषमा लज्जा लजालु स्वभाव त्यति हुँदैन । अधिकांश स्त्री जीवनभरि मनपर्ने एकमात्र पुरुषसँग आनन्दभोग गर्न रुचाउँछिन । तर, कतिपय पुरुषमा त्यो व्यवहार लागू हुँदैन । पुरुषमा उच्छृङ्खल चञ्चलता बढि हुन्छ ।
यस नाचमा पनि शिवले आफु जवान भएको बेला जँुगा मुसार्दै बाहिरी नारीहरुप्रति दृष्टि राखिदिनाले पार्वतीलार्य शिवले दिने माया प्रेममा कमि आएको भान हुन्छ । निराश पार्वतीको दुःख देखि नसकेर गुरु खिं नाटेश्वरले शिवको आँखा खोलीदिनका लागि पार्वतीलाई कसैल नदेख्ने गरी आफु पछाडि लुकाईदिनु हुन्छ । जीवनमा पुरुषको यही स्वभावलाई दर्पणको रुपमा देखाउन अनुशासनको गुरु खिँ (नाटेश्वर) ले एकदिन शिव (पुरुष तत्व) को उच्छृङ्खलताको पराकाष्ठालाई नियन्त्रण गर्न आफ्नो पछाडि पार्वतीलाई लुकाई दिनुपरेको हो ।
शक्ति जहाँ जहाँ तरङ्गित हुनपुग्यो त्यहाँ त्यहाँ शिव पनि बेचैन वा प्रभावित हुन पुग्दछ । शिव आफ्नो शक्ति स्वरुपा बत्सलालाई आफ्नो वरिपरि नदेखिसकेपछि भावविभोर हुन पुग्दछ । आँशुका धारा बगाउन थाल्दछ । रुँदारुँदै आँखा राता राता बनाउन पुग्दछ । नाकबाट सिँगान बगाउन पुग्दछ । उक्त आँसु र सिँगान दायाँतिर र बायाँतिर तीन तीन पटक नृत्यनाटक हेर्न बसेकाहरुको मुखमा पर्ने भानले फ्याँक्दछ र नृत्यनाटक हेर्न बसेका अरु सबै दर्शकहरु सो मज्जाको रस लिन्छन । शिव आफ्नै हातको मुठीले आफ्नै टाउको पिट्दछ । आफ्नै मुठीले आफ्नै छातिमा पिट्दछ । पागलझैँ भई डबलीभरी लखतरान भई आफ्नो शरीर समाल्न वा थाम्न नसकिने गरि अनियन्त्रित हुन पुग्दछ ।
धेरै समयसम्म पनि पार्वतीसँग बिछोडमा रहनु परेकोले शिवको मस्तिष्कमा दिग्भ्रम उत्पन्न हुन्छ । र उनले सबै नारी जातिलाई आफ्नो अद्र्धाङ्गिनी जस्तो देख्न थाल्दछ । शिवले देखेजति नारीलाई आफ्नो अद्र्धाङ्गिनी देखिसकेपछि मन बहलाउन प्रेममा पार्न आफ्नो निस्वार्थको माया र पे्रम देखाउन आफूसँग भएको चाँदीको गरगहनाहरु देखाउँदछ र आफुसाग आउनको लागि अनुनयविनय गर्दछ । धेरै प्रलोभन पनि दिन्छ । सुनचाँदी, हीरामोति, स्त्री जातिलाई असाध्यै मन पर्दछ । हामी आफैले पनि जीवनमा स्त्रीलाई मन पर्ने वस्तु सुनचाँदी, हीरामोति, आदि दिन सके असाध्यै मन पराउँछन र प्रेम गर्दछन । शिव दिनरात बिरह बोकि भौतारिदै पार्वती (शक्ति) खोज्दछ । खोज्दा खोज्दा असिन पसिन हुन्छ । धाराको पानी सरह पसिना पुछ्दै निकै थकित देखिन्छ । सोही पसिना दायाँतिर र बायाँतिर कुदेर नृत्य गर्दै देखाउँन पुग्दछ । अँध्यारोमा आफ्नो स्त्रीलाई खोज्न चिराग (टुकी) बालेर सारा संसार धाउँदछ । यसरी भावबिभोर भई भौतारिएको शिव करुणा रसमा पर्दछ ।
गुरु खिँ (नाटेश्वर)ले शिवको विरहदेखि आफ्नो पछाडि लुकाएको पार्वतीलाई सामुन्नेमा प्रदर्शन गर्नुहुन्छ । आफ्नो प्राण भन्दा प्यारी वात्सल्य कि धन िपार्वती देखेपछि शिवमा उमंगको रस (हर्षको रस) पैदा हुन्छ । खुसीको कुनै सीमा नै रहन्न । त्यसपछि अघि जो जो स्त्रीहरुलाई सुनचाँदीका गरगहनाहरु दिन्छु भनी प्रलोभन देखाई बोलाएका थिए ती सबैलाई बिस्मय रसद्वारा मेरो पत्नी तिमी होइनौँ, औंलाले पार्वतीतिर देखाउँदै उनी मेरी पत्नी हो भनी हातका इसाराले हराएको पार्वती (शक्ति) पाएका शिवले खुशीसाथ रातो रुमाल हल्लाएर संकेत गर्दछ । यसरी हराएको पत्नी शिवले पाउँदा दुवै खुशीले सँगसँगै नाच्न थाल्दछ । बेलाबेलामा आफुलाई छाडेर गएकोमा क्रोध रस पनि प्रकट गर्दछ । पार्वतीलाई ख्याल ख्यालमा मायाले पिटी पनि हिड्छन । अबदेखि फेरि छोडी नजानको लागि विनय गर्दै आग्रह गर्दछन ।
यसो हेर्दा गुरु नाट्येश्वरले हाम्रो जीवन जिउने कला र व्यवहारको दर्पण यो नृत्य नाटकमार्फत देखाउन खोजेको देखिन्छ । कठिन परिश्रम र साधनाबाट प्राप्त शिव र पार्वतीको पे्रम यो ब्रम्हाण्डको आदि हो । यस नृत्यमा पनि शिव र पार्वतीको अद्भूत प्रेम देखाउन खोजिएको छ । तसर्थ, प्रेम एकसँगमात्रै हुनुपर्दछ । शिवको मुकुट, तासको सुरुवाल, पार्वतीको जामा तथा शीरमा मुकुट, आदिको अध्ययन गर्दा यो नृत्यको परम्परा किरातकालीन सभ्यताको झलक दिने खालको छ भनी कुलचन्द्र कोइरालाको आराध्यदेव पशुपति नामक पुस्तकमा लेखिएको पाइन्छ । नृत्यका विभिन्न विधाको विकास ईशा पूर्वका सहश्राब्दीमा नै भइसकेको हुँदा शिवपार्वती नृत्यलाई पुरातन काल कै देन भन्न सकिन्छ भनी उनले थप उल्लेख गरेका छन ।
नृत्यको प्रचलन परापूर्वकालदेखि भए तापनि यसलाई चाहिने खर्चको व्यवस्थापन गर्न पहिलोपटक गीर्वाणयुद्ध विक्रम शाह (वि.सं. १९५४–१८७३) को पालामा विक्रम संवत १८७० को लालामोहरमा चौध मोहर छुट्याइएको उल्लेख छ । यो नृत्य पशुपति अमालकोट कचहरीबाट सञ्चालन गरिन्छ । नृत्य समाप्तिपछि यसको सबै पोसाक, मुकुट र अन्य गरगहनाहरु अमालकोट कचहरी मै व्यवस्था गरि राखिन्छ ।
यस नृत्यमा गाउने च्वो तालको धिरे धिरे चलो…. गीतमा सुरेन्द्र विक्रम शाहको स्तुति गरिएको सार्थ प्रताल तालको जय जय नाटेश्वर…. गीतमा पृथ्वी वीरविक्रम शाहदेव राजाको स्तुति गरिएको देखिएकोले शाह राजाहरुले यसको निरन्तरता र संरक्षणमा राम्रै टेवा दिएको देखिएको छ । यस नृत्यमा शिव र पार्वती दुबै केटा बच्चाहरु हुने प्रचलन रहेको छ । शिवको मुकुट वा ख्वापा हुन्छ भने पार्वतीको रत्न जडित शीरमा लगाउने मुकुट हुन्छ । शिवपार्वती दुबैको गोडामा घङ्घला हुन्छ । शिवको तास कपडाको सुरुवाल अनि कम्मर भन्दा माथि नाङ्गो हुन्छ । पार्वतीको तास कपडाको जामा र चोलो हुन्छ । शिव र पार्वतीको कम्मरमा कालो कपडाको किनारामा चाँदीको झल्लर र चाँदीको फूलहरुले सजिएको वृत्ताकार पेटी हुन्छ । शिवको कम्मरभन्दा माथिको भाग नाङ्गो शरीरमा जयवागेश्वरी मन्दिरको गर्भगृहस्थित देवी महासरस्वतीले धारण गरेको चाँदीको १०८ गोलाकार औंठीले जोडी बनाएको एक प्रकारको सिक्री माला हुन्छ । जुन घाँटीमा कपडाले अगाडि र पछाडि सिक्रीलाई बाँधेर घाँटीमा चुच्चो पारेर लगाइन्छ । यसरी जगत जननी जयाबागेश्वरी माँ ले धारण गरेको सिक्री लगाउनु भनेको महामाया माँ ले शिवलाई शक्ति प्रदान गर्न दिएको भन्ने मान्यता रही आएको छ । शिव र पार्वतीको दुबै हातको नाडीमा रातो मलमलको कपडाको घडीको संकेत दिने जस्तो कपडा हुन्छ । यस नाचमा शिव बन्ने बालकले रातो मुकुट जसमा न घुम्रिएको कालो जुङ्गा, शीरमा तेस्रो नेत्र, तीन ओटा धर्सा (त्रिकुट), र स्वयम्भूको प्रती गुम्बज आकारको अर्ध गोलाकार र शिखर चुच्चो भएको रातो टोपी लगाएको हुन्छ । पार्वती बन्नेले मुकुट (ख्वापा) लागाउनु पर्दैन ।
प्रत्येक वर्ष भाद्र प्रतिपदा कृष्णपक्ष सोह«श्राद्धका दिनदेखि तृतीयको दिनसम्म देवपतनमा नागेंचा प्याखँ जात्रा हुने गर्दछ । यो नृत्य जयवागेश्वरी मन्दिरमा आरती सकेपछि त्यहीका पूजारी आचाःजु (कर्माचार्य) पालोवाला आएर नासःचोकमा नासः पूजा गरे पछि मात्र यो नृत्य आराम्भ हुन्छ ।
यो सर्वप्रथम अमालकोट कचहरी अगाडिको नासः चोकबाट सुरु भएर जयबागेश्वरी मन्दिर प्राङ्गण, पशुपति नवग्रह अगाडि, भुवनेश्वरी डबली, नवदुर्गा नचाउने डबलीपछि फेरि नासः चोकमा द्यःल्या गरी पहिलो दिनको नृत्य कार्यक्रम सम्पन्न हुन्छ ।
दोस्रो दिनमा पनि जयबागेश्वरी चोकको नासः चोकमा नासःद्यःल्या गरी पशुपति नाथको मूल भट्ट निवास स्थान र अन्य चार भट्ट निवास स्थानमा नृत्य गराइसकेपछि विश्वस्वरुप मन्दिर अगाडि द्यः ल्या पछि अन्तिममा गुह्येश्वरी मन्दिरको प्राङ्गणमा नृत्य गराइ सम्पन्न गरिन्छ ।
तेस्रो दिन पनि नासः चोकमा द्यः ल्या गरिसकेपछि मित्रपार्क चोकबाट पूर्व हेरी द्यः ल्या गरिन्छ र पछि चाबहिलमा चन्द्र विनायक गणेश मन्दिरको प्राङ्गणमा नृत्य देखाइन्छ । त्यस पश्चात चारुमति विहार अगाडिको डबलीमा पूरा नृत्य गराईसकेपछि शिव पार्वती नासः चोकमा अन्तिम द्यःल्या पछि त्यसवर्षको नृत्य कार्यक्रम समापन हुन्छ ।
एकपटक छानेको केटा शिव पार्वतीले पाँच वर्षसम्म नाच्दछन् । त्यसपछि अर्को पुस्ताको केटाहरुलाई तयार गरी नृत्य सिकाउनु पर्दछ । सर्वप्रथम खिँको बोलसँग नृत्यको ताल अनि मुद्रा सिकाइन्छ । ती छानिएका केटा शिवपार्वतीहरु शाक्य, बैद्य, श्रेष्ठ, डंगोल, लगायत अन्य नेवार समुदायबाट भाग लिने चलन छ ।
बाजामा खिँ, धा, नायःखिँ, ता, भूस्या, छुस्या, छुवाली र मुवाली (जोगी बाजा) हुन्छन् । मुवाली (जोगी बाजा) पशुपतिनात भण्डार तलबिलबाट व्यवस्थापन हुन्छ । उक्त बाजा पशुपतिनाथ मन्दिर प्राङ्गणमा दिनहुँ श्रीको भोग चढाउँदा बजाउनु पर्दछ ।
यो नृत्य कार्यक्रम चाबहिल, चारुमति विहारका बज्रपाणी लोकेश्वरको शाक्य गुठीयारहरुद्वारा हरेक वर्ष पालैपालो क्रमसंख्या अनुसार यस नागेंचा प्याखँ सञ्चलानको जिम्मा लिने गरी व्यवस्था भएको हुन्छ ।
यसै गुठीयारहरुद्वारा मासिक पालो फेर्ने गरी यस चारुमति बिहार बज्रपाणी लोकेश्वरको विहान र साँझ नित्य, आरती गरी पालैपालोले विहार संरक्षण र महिनाभरी रेखदेख गर्ने व्यवस्था पनि गरिआएको छ ।
नोट – नागेंचा प्याखँ संरक्षण समितिका अध्यक्ष श्रीकृष्ण डंगोल, यस नृत्यको सङ्गीत तथा नृत्य प्रशिक्षक र यस नृत्यको कलाकारहरुसँगको कुराकानीमा आधारित ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच