राम कुमार राई (नृत्य तथा संगीत विभागीय प्रमुख सिर्जना कलेज अफ फाइन आर्टस्)
दाङ देउखुरी क्षेत्रमा बसोवास गर्ने थारु समुदायले बड्कीमार नाच नाच्ने गर्दछन् । विशेषतः यो नृत्य नाटिको हो । प्रसिद्ध महाकाव्य महाभारतको कथामा आधारित नृत्यनाटिका हो । यो परम्परागत नाचलाई थारु संस्कृतिमा सबैभन्दा खर्चिलो लोकनाचको रुपमा लिइन्छ । यस नाचलाई मनोरञ्जनको साथै आफ्नो गाउँघरमा देखापर्ने दुःख, दरिद्र, अनिकाल, महामारीबाट छुट्कारा पाउन सकिन्छ भन्ने विश्वासको साथ नाच्ने नचाउने गरिन्छ । यो नाचको सुरुवात कहिलेदेखि भयो भन्ने कुनै ठोस प्रमाणहरु छैन ।
पछिल्लो प्रमाणको रुपमा पहिलो पटक वि.सं. १९७१ सालमा दाङ देउखुरीको गावर्डिया गा.वि.स. दक्षिण महदेवा बस्ने नारायणप्रसाद थारुको सल्लाह बमोजिम बड्का नाचको निर्देशक महतौ रुपलाल थारुले नाचका लागि दाङका रावतगाउँ, चुरकमटिया, तेघरा, जस्ता गाउँबाट गीतहरु संकलन गरी यो नाच नचाएका थिए ।
महाभारतको पाण्डव र दङ्गीशरण राजासम्बन्धि कथा र गीतहरु त्यही समयमा एकत्रित गरिएको अनुमान गर्न सकिन्छ । यद्यपि, यसको कुनै ठोस प्रमाणहरु भेटिदैन । यसरी सङ्कलित केही बाहेक अन्य गीतहरु पछिल्लो समय महतौ रुपलाल थारुले आफै तयार गरेका हुन् भन्ने कुरा उनका छोरा चन्द्रप्रसाद चौधरी दरित गर्दछन् ।
यसरी महाभारतमा आधारित भई त्यसको पात्रहरुको चरित्रलाई चित्रण गर्दै आएको बड्का नाच महातौ रुपलाल थारु र नारायणप्रसाद थारुले वि.सं.२००५ सालमा ५/५ वर्षको फरकमा नचाएको कुरा चन्द्रप्रकाश चौधरी बताउँछन् ।
नाचको अगुवा हिमवन्त राजा, श्रीकृष्ण (कान्छा), ग्राम्य देवता भुँयारको रुपमा ग्राम्य देवस्थल ठनहवामा स्थापित धर्मराजा युधिष्ठिर (जुदिस्ठिर), थारुहरुको अति प्रियमात्र विशालकाय भीम (भीवाँ), अर्जुन (अक्षयत्रोण), पण्डित नकुल (नकुरा) र सहदेव (सहडेव) छन् । साथै अन्य पात्रहरुमा माता कुन्ते .कोटारिन भाइ), महाव्रती भीष्म (गंवेवा), सर्प चुचंक (सपकेठो), गुरु द्रोणाचार्य (दौनागीर), राजा विराट (बैराठ), द्रोपही (डुर्पटी), उत्तरकुमार (उत्तरक्वारा), आदि हुन्छन् ।
यो नाचको थालनी गर्दा जुन गाउँमा यो नाच नचाइदैछ, त्यहाँ सर्वप्रथम स्तुति गरिन्छ । जसलाई थारु भाषामा समरौटी भनिन्छ । समरौटी को शाब्दिक अर्थ सम्झनु वा सम्हाल्नु भन्ने हुन्छ । समरौटी गर्दा चौधवटा गीतहरु गाइन्छन् ।
ती गीतहरुको अंश हेरौैं –
सरस्वती सामिरौं ज्युका र ज्योति,
सुनो माता पिता एक विनती हमार,
पण्डो कथा र कहाँ लैजाऊ
जहाँ सुनाउ जहाँ वासुक नाग
भगवती शरण लिहुवा टोर
नाम देवी धरम देवी बन्धान वा ।
अर्थात, जीवनलाई ज्याति प्रदान गर्ने देवी सरस्वतीलाई म सदैव स्मरण तथा स्तुति गर्दै विन्ति गर्छु कि हाम्रा प्रातः स्मरणीय पाण्डवलाईको कीर्तिको कथालाई म पातल लोकसम्म पुर्याउने छु । हे भगवती ! म तिम्रो शरणमा आएको छु । तिम्रो धर्मको बन्धनमा म बाँधिएको छु ।
सरस्वती सामिरौं गोहीयासंरा
साथी चौरासी कोइलर सामिरौं
धन अमराई सवारीलाख
गोहिया खेल खेला भगवाती शरण
लिहावु टोर नाम ।
अर्थात हे देवी सरस्वती ! तिम्रो जति पनि सङ्गीसहेलीहरु साथ रहने तिमीलाई म सदैव स्मरण एवम् स्तुति गर्दछु ।
यसरी चौधवटा नै गीत गाएपछि सम्बन्धित ठाउँको भुँयार स्थानमा भएका देवताहरुलाई सम्बोधन गरिन्छ ।
जस्तै ः पाँच पाण्डव देव सामिरौ,
हमरी मेररिक करो रक्षापात
भुत वुत लाग जिन् डेओ
भगवती शरण लिहुवा टोर नामा ।
अर्थात – म देवतुल्य पाँच पाण्डवहरुलाई स्मरण एवम् स्तुति गर्दछु । हाम्रो रक्षा गर्नुहोस । प्रेतात्मा तथा दुष्टात्माहरुले हामीहरुलाई नसताओस । हे देवी ! म तिम्रो शरणमा आएको छु ।
यसरी ग्रामय देवीदेवताहरुको सम्झना गरिसकेपछि नाच सुरु हुन्छ ।
संयुक्त रुपमा मिलेर नाच्ने पात्रहरुको परिधान यसरी छुट्टिन्छ ।
(१) विभिन्न रङ्गका मुगा हालेका चाँदीले बनेको विजाइत पाखुरामा लगाई, हातको काँसको ककनी, चाँदीको पैसाका औंठीहरु प्रत्येक औंलामा, रुपियाँ पैसाको माला घाँटीमा , चाँप खुट्टामा, मयूरको प्वाँखले बनेको मेटुकी टाउकोमा अनि सटकी, फकनी लगाएर लेहेङ्गामा नाच्ने पाँच जना ।
(२) शीरमा चार पाँच रङ्गको कपडाको फेटा, मयूरको प्वाँखले बनेको ढाल पिठ्यूँमा राखेर मयूरपङ्खा, पुष्पहार, आदिको झुम्काले सिंगारिएर सेतो जामा लगाई नाच्ने पाँच जना ।
(३) पिठ्यूँमा मयूरको प्वाखँले बनेको ढाल राखेर धोती लगाएर नाच्ने मुजुरसहितको पाँच जना ।
(४) हात्ती घोडा चित्रित लुगाहरु लगाएर दायाँ, बायाँ रातो सेतो दोपट्टा र मुखमा खप्पर लगाई साना साना घण्टी र चाँपसहितका स्वाँगे वा जोकर दुई जना ।
(५) धोती, कमिज, कोट, आदि लगाएर तीन वा चार रङ्ग मिलेको कपडाको फेटा टाउकोमा बाँधी मयूरको प्वाखँ घुसारी, दायाँ बायाँ हरिया र रातो दोपट्टा भिरेर मादल बजाउने तीन जना ।
(६) साधारण पोसाकमा डुल्ने एक जना ।
(७) सेतो भोटो, सेतो कधनी र कोट लगाएर गीत गाउने चार जना हुन्छन भने पहेंलो कोट, पहेँलो कधनु, पहेंलै फेटा । पहेंलो टबेलसहित पहेंलो झोला भिरेर हिँड्ने गुरुवाहरु पाच जना हुन्छन् ।
झोलामा अक्षता लिएर चारैतिर हिँड्ने गर्दछन् । नाचको क्रममा जुन ठाउँमा नाच नचाउन थालिएको छ, त्यस ठाउँका मानिसलाई कुन शीर्षकको गीत सुन्ने भनेर सोधिन्छ । उनीहरुले भनेअनुसारको गीत सुनाइन्छ ।
यसरी सुनाउने वा प्रत्येक शीर्षकका एक एक वटा गीतहरु यिनै प्रयास गरिएको छ ।
(१) समरौटी पैधार – उक्त शीर्षकको गीत माथि नै उल्लेखित गीत हो ।
(२) राउवेद पैधार –
राजा डुर्पटक बेटी भए सम्हौटी,
सीकरी टुर राजा मैजल हाँठी,
ड्ढीरी वाधिन छेंक कोपिला गाई,
राउवेध डुर्पटीले आन जैरी नाउ धनराज हो ।
अर्थात – राजा द्रुपदकी पुत्री आफ्नो यौवनास्थामा मत्त हात्ती र डमरु भएकी बघिनीझैं अनियन्त्रित भएर कोही राउरुपी चरालाई छेदन गर्न सक्ने कुशल धनुधार्य हुनुहुन्छ भने द्रौपदीलाई स्वयम्वर गर्नुहोस ।
(३) पसावोर पैधार –
राजा जिरिजेघन कह जव लाग,
शकुनी मामा जोको उपाई,
कौन विधि माँरु पञ्चो भाइराजा,
जुदिष्ठिल धरमसे चल,
पाँच जण्डो राज औयर ।
अर्थात – युधिष्ठिरको धर्म परायणताको कारणले सम्पूर्ण प्रजाजनहरु पाण्डवहरुलाई नै राजगद्दीको उत्तराधिकारी नियुक्त गर्न गइरहेका छन् । अतः हे शकुनी मामा ! यस्तो कुनै उपाय रच्नुुस् जसबाट पाँच पाण्डवलाई मार्न सकियोस् ।
(४) लषागिर पैधार –
शकुनी मन्त्री मन्त्रायक जोर,
राजा जिरियोधन सरस नै बोल,
पण्डोमारी ठोर उपाई लषकी लवागीर,
म डीह डार ।
अर्थात – मन्त्रालयका मन्त्रीहरुले पाण्डवहरुलाई मार्न बरुणनगरमा लक्षागृह बनाई त्यहाँ बास बसाउने र आगो लगाएर मारिदिउँला ।
(५) वनवासक पैधार –
पण्डोकसँग कोही नहीं जावे,
पण्डोकसँग डैरी जिउटाँ जा,
यहाँ कहाँ अइठो डैरी डीउँटवा,
जैयपुर बाटो कोटारिन माई,
पुजही अटही कोटारिन भाइ ।
अर्थात – पाण्डवहरु वनवासतर्फ प्रस्थान गर्न थाल्दा उनीहरुसँगै देवीदेवता पनि जान थालेको देखेर पाण्डवहरुसँग भन्छन्, तपाईंहरु कष्ट झेल्नका लागि वनतर्फ लाग्नुभन्दा यहीँ जैटापुरमा बास गरी प्रजाजनसँगै रहनुहोस् । जहाँ तपाईंको सेवाको लागि माता कुन्ति हुनुहुन्छ ।
(६) घरवास पैधार –
सहर सहर पाण्डवों चली जावे,
सहरकलोक परल मुरझाई,
लोहरा एक लोह ठटा,
आपन हाठौरी ठटा ।
अर्थात – पाण्डवहरु हिँडिरहेको बेला उनीहरुको अद्भूत व्यक्तित्वले नगरबासीहरुलाई कस्तो मन्त्रमुग्ध पार्दछ । फलाम पिटिरहेको कामीले आफ्नो हतौडाले आफ्नै औंठामा हिर्काउन पुग्दछ ।
(७) हाठीया पैधार – भीमको विशालकाय शरीर देखेर राजा विराटलाई मनोरञ्जन लिने उदेश्यले उनले युधिष्ठिर समक्ष राखेको प्रस्तावलाई यस पैधारमा यसरी उल्लेख गरिएको छ ।
टो बोली उठ बैराठ राजा,
सुको र युधिष्ठिलाठीया वल्लो (वल्लभ),
डीरलरा ।
अर्थात – तिमीहरुमध्येको यो वल्लभसँग मेरो हात्ती लडाउनुपर्छ ।
(८) किचक पैधार –
डुर्पटीक सरुपवा जे किचका डेख,
आपन जलम झुठकै डेख,
डुर्पटीक जलम फुरकैरे आव,
डुर्पटी कराउँ अंगमूल,
सौ किसौ विधि मेरी वहींजा ।
अर्थात – राजा विराटको राज्यमा सेनापति किचक बडो शक्तिशाली थियो । एकदिन ऊ आफ्नो बहिनीको दासीलाई देख्दा विवेकहीन भएर आफ्नो मनसाय व्यक्त गर्यो । यस नयाँ दासीलाई आफ्नो अर्धाङ्गिनी बनाउन नपाउँदासम्म मेरो जीवन व्यर्थ छ, तर ती दासी आदर्शकी प्रतिमा भएकोले किचकजस्तो निकृष्ट व्यक्तिको कुनियतको पूर्ति हुन सकेन ।
(९) सुशर्मा पैधार –
राजा सुशर्मा कह जब लाग,
शुकनी मामा जोरो उपाई,
सौ कुछ मामा जोरो उपाई,
कौन कौनके बेही गाई,
मली र मीता अर्जुन धनुर्धर,
कौरी भारी बहुट गाई ।
अर्थात – दुर्योधनले सुशर्माले नेतृत्वमा उत्तरतर्फबाट विराटपुरमा आक्रमण गरी उनीहरुको सम्पत्ति (गाई) लुटेर ल्याउन कूटनीतिज्ञ शकुनीलाई युद्धको लागि पोजका बनाउन आग्रह गर्दछन् ।
(१०) जतीय पैधार – भीमप्रति अन्यका तुलनामा स्नेह कम भएको नभई भीममा दानवलाई मार्न सक्ने शक्ति छ र उनी सजिलैसँग उम्किएर आउन सक्छन् भन्ने युधिष्ठिरको विश्वासलाई यस पैधारमा यसरी उल्लेख गरिएको छ ।
माझ डान राजा खेकटा र गार,
खकेटा भैयौं करी र विचार,
भीरीङ कै खकेटा बोल,
वह सुन भीवाँ टोर वाऊँ ।
अर्थात – युधिष्ठिर नदीको बीचमा एउटा घडी गाड्छन् र आफ्ना भाइहरुलाई भन्दछन्, यो घडीले जसको नाम उच्चारण गर्ला दानवको आहार बन्न त्यही जानुपर्दछ । घडीले पानीमा गाडिएकोले पानी दुई धारामा बाँडियो र भीरीङ भीरीङ आवाज निस्किएकोले भीमको नाम उच्चारण भएको अर्थ लगाएर भीमलाई नै दानवको आहार बन्न जाने निर्यण लिइन्छ ।
(११) बड्कीमार पैधार –
जाग अर्जुन भए सौंसेटा,
पञ्चोवानले चलल कुरुखेता,
ओंही कुरुखेता हराऊँ,
वरीमार रकटा रुनझुन वरसी देऊँ ।
अर्थात – आफु अचेतन भएको कारणले क्रोधित भै अर्जुन आफ्ना सम्पूर्ण दाजुभाइहरुलाई लिएर कुरुक्षेत्रमा यति भयानक युद्ध गर्न थाल्छन् कि चारैतिर रगतको नदी बग्न थाल्दछ । अर्जुनले अनेकौं सरहरु छोडी कर्णको रथ, घोडा, सारथी, मारी कर्णलाई छेदन गर्दछन् ।
(१२) स्वार्गारोहण पैदार – इन्द्रलोकबाट एउटा विमान चारैदिशा उज्ज्वल पार्दै आएरु इन्द्रले धर्मराज युधिष्ठिरलाई सदेह स्वर्ग जाने अनुरोध गर्दा युधिष्ठिरले भनेको कुरालाई यस पैधारमा यसरी गाइन्छ ।
सोनकै मचिया बैठी राजा करल कचहरी,
चारी भाइ डुर्पटी कौन उगर हुइल अगसुर ।
अर्थात – मेरा चार भाइ र सहचारी द्रौपदी मार्गमा मृत्यु भएर लडेका छन् । उनीहरुलाई पनि म आफुसँगै लिएर स्वर्ग जान पाए बेस हुन्थ्यो ।
नेपालको नृत्य इतिहासमा नारायणप्रसाद थारु, महतौ रुपलाल थारु, महतौ रुपलाल थारु, आदिको बारेमा अध्ययन हुन आवश्यक छ । यस नाचको पुनउत्थानको लागि यस्ता नृत्यविद्हरुको खाँचो परेको छ ।
राम कुमार राई (नृत्य तथा संगीत विभागीय प्रमुख सिर्जना कलेज अफ फाइन आर्टस्)
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच