RAM KUMAR RAI
नाचको नाम – हो रेशो ङिमटेसी नाच
नाच्ने समुदाय – ल्होमी
मुख्य स्थान – संखुवासभा
पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी भूभाग भोटखोला, पाथीभरा उत्तर र माथिल्लो अरुण उपत्यकामा बसोबास गर्ने ल्होमी समुदाय नेपालको सीमान्तकृत आदिवासी जनजाति हुन । ल्होमी समुदायको ल्होकेत भाषामा “ल्हा”े अर्थ “दक्षिण दिशा” र “मी” को अर्थ “मानिस वा मान्छे” भन्ने हुन्छ । तिव्वती भूभागभन्दा दक्षिण दिशामा बसोबास गर्ने मानिसहरुलाई ल्होमी भनिएको देखिन्छ । यसरी कुनै स्थानको स्वामित्वबोधक जनाउने समुदायको रुपमा यस जातिको नामकरण भएको देखिन्छ ।
यस समुदायलाई शिङसाब भनेर पनि चिनिन्छ । आफ्नो छुट्टै विशेषता बोकेको रैथाने लिखित अलिखित इतिहास, भाषा, कला, साहित्य, धर्म, परम्परा, लोकवार्ता, संस्कार र संस्कृति रहेको यस समुदायभित्र विभिन्न परम्परागत लोकनाचहरु पनि रहेका छन ।
विभिन्न परम्परागत नाचहरुमध्ये विवाह संस्कारमा नाचिने लोकनाचलाई होरेशो ङिमटेसी नाच भनिन्छ । विवाहमा आमाहरुको समूहको नाचलाई ङिमटेसी र पुरुषहरुको समूहले नाच्ने नाचलाई हो रेशो नाच भनिन्छ । विभिन्न संस्कारहरुमध्ये यस समुदायको विवाह संस्कार पनि महत्वपूर्ण रहेको छ । हरेक संस्कारहरुमा लामाको अनिवार्यता रहेने गर्दछ । यस समुदायमा मागी विवाह, भागी विवाह, प्रेम विवाह, जवर्जस्ती विवाह, भाउजु विवाह, जारी विवाह, वहुपत्नी विवाह, चोरी विवाह, आदि विभिन्न किसिमका विवाहहरु गर्ने गर्दछन । जे जस्तो विवाह गरे पनि आखिरमा बेहुलीलाई घर भित्राउदा भने पुरै रीतअनुसार भित्राउनु पर्दछ । सो समयमा बेहुलाका आमा र अन्य महिलाहरु एउटा पंक्ति र पुरुषहरुको समूह अर्को पंक्तिमा उभिएर नाच्ने गरिन्छ ।
बिवाहमा बेहुलीले भागो नामक भेषभुषा लगाउने गर्दछ भने अन्य सहभागीहरुले आफ्नो समुदायको मौलिक भेषभुषा र गरगहनाहरुमा सजिएर नाच्ने गाउने गर्दछन । यस समुदायको महिलाहरुले कपालमा चिमरकी फोताङ, टालोङ र टापिङ, चाँदीको मोहर, आठ आना र चार आनाका सिक्काहरु एकअर्कामा जोडेको, चाँदी वा तुङको सिक्री पनि एकातिर झुण्डार बनाएको श्यमुङडोङस्यो (एकप्रकारको टोपी), कानमा लगाउने आलोङ, गलामा लगाउने हारी, क्षीन्तो, क्षीन्डुक्प, कीलुङ, नाडीमा दुगु कान्दा, भाङदी (सिक्काको औंठी), धुङगर, जस्ता जातीय गहना र फुच्च्येक (बख्खुजस्तो लुगा), हाङजुक, कितेन, पाङदेन, काबुबुरे, काङस (दोचाजस्तै जुत्ता), फोताङ, ओङचुक (चोलीजस्तै लुगा), आदि लगाउने गर्दछन । त्यसैगरी पुरुषहरुले कानमा ओलाङ, हातमा भाङदी, गलामा क्षीन्दो, सिमाला, फुच्च्येक, तोतुङ, काङसा (दोचाजस्तै जुत्ता), काबु, श्यमुङ, आम्सो, थाङगर, छिरिङच्यङिगप, नाम्बी तोतुङ, जस्ता गरगहना र भेषभुषाहरु लगाउने गर्दछन ।
यस समुदायको मान्यताअनुसार मनोरञ्जन र शौखको लागिभन्दा पनि विभिन्न प्रेतात्मा र भुतप्रेतबाट बच्नको लागि गरगहनाहरु लगाउने परम्परा रहेको छ । सम्पूर्ण गरगहनाहरुको आ–आफ्नो धार्मिक तथा साँस्कृतिक अर्थ र महत्व रहेको छ ।
More Stories
मोको जाम्बिज नृत्य
श्यप्रे लु नाच
फुटुक नाच