हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

राम कुमार राई

        भोजपुर सदरमुकामदेखि करिव १४ कोस उत्तर पूर्वमा खार्तम्छा भन्ने गाउँ छ। त्यस गाउँमा बहुसंख्यक किरात राई जाती बसोबास गर्दछन। करिब डेढ सय वर्ष अघिसम्म त्यहाँ किरात राईहरुको मात्रै बसोबास थियो।

         त्यही समयको कुरा हो। गाउँमा एक जना कँक्प मँक्पा भन्ने ज्यादै जान्ने बिजुवा थियो। कँक्प मँक्पाको प्रसिद्धि टोला खोलामा मात्रै नभएर चारै दिशाका छिमेकी गाउँहरुमा पनि फैलिएको थियो। 

त्यो समयमा उ जतिको जान्ने धामी कोहि थिएन। त्यसैले कँक्प मँक्पा अराजक पनि थियो। तर युवाहरुबिच प्यारो थियो। 

घाँस दाउरा काटन, मालिङ्गो काटन तथा कुनै कामले जंगलमा जाँदा खेरि सबैलाई अनेकौं चमत्कार देखाएर मुग्ध पर्थ्यो। कुनै परिश्रम नै नगरी सबैको काम चमत्कारी शक्तिले सम्पन्न गरिदिन्थ्यो। 

घाँसको लागि घाँसको भारी, दाउराको लागि भारी, मालिङ्गोको लागि भए मालिङ्गोको बिटा, आदि जे जे लिन गएको हो कँक्प मँक्पाले चुटकी कै भरमा तयार गरिदिन्थ्यो। 

भोक लागेमा घुँङग्रीङ्ग खिप्न लाउँथ्यो अनि नेभारोको बोहोता बनाउन लाउथ्यो र रिसिया गाए पछि तात्तातो खाजा पनि जंगलमा नै बनाइ दिन्थ्यो। वासिम (जाँड) खान मन लागे सबैभन्दा मिठो वासिम, आराख (रक्सी ) खान मन लागे मीठो न मीठो आराख र मासुमंस खान मन लागे ताजा ताजा मासु तुरुन्तै त्यही घुँङग्रीङ्ग घुमाएर चोबोबो भने पछि नेभारोको बोहोताभरी ल्याइदिने।
 
         गाउँभरिको सह जति कँक्प मँक्पाले घुङग्रीङ्ग कै भरमा आफ्नो पारेको गाउँलेहरुले थाहा पाए। आफ्नो घरको घ्याम्पोमा भएको वासिम पनि रस बिनाको छोक्रा मात्रै बाँकी हुने। सबै कँक्प मँक्पाले खाइदिने। 

कठुवामा राखेको आराख पनि कैले हो कैले उसैले रित्याइदिने। गाउँलेहरु मिलेर चेतावनी पनि दिए। तर, कँक्प मँक्पाले आफ्नो बिद्या प्रयोग गर्नै छोडेन। 

विभिन्न खालको सजाय पनि दिइयो। अझै पनि उ सुध्रिएन। अति नै गरे कँक्प मँक्पाले।अनि,यो त अति नै भयो भनेर गाउँलेहरुले मिलेर कँक्प मँक्पालाई मार्ने निर्णय गरे। 

खार्तम्छा कै ठूलो खोला चिर्खुवाको अन्य सहायक खोलाहरु मध्ये बखडे र घारावा भन्ने खोला छ। हो, त्यही खोलामा गाउँलेहरु मिलेर कँक्प मँक्पाको हत्या गरि बखडे खोलाबाट शरीर र घारावा खोलाबाट टाउको बगाइ दिए। 

अनि गाउँलेहरु गाउँतिर फर्किए। तर अचम्म त के भने गाउँलेहरु गाउँमा पुग्दा त उनिहरु भन्दा अघि नै घरमा कँक्प मँक्पा जीवित भएर पुगिसकेको रहेछ। 

गाउँलेहरु अचम्मित र भयभित पनि भए। अनि कँक्प मँक्पाले गाउँलेहरुलाई भने "म नै यो गाउँको सह हुँ। म विजुवा हुँ। म तिमीहरूको हातबाट मर्दिन। म आफैं मर्छु। तर, एउटा श्राप दिन्छु कि यो गाउँमा मजस्तो जान्ने धामी अब कहिल्यै नजन्मियोस।अनि जति नै श्रम गरेपनि यो गाउँमा अन्नको सह नबसोस। जहिल्यै खानालाउन धौ धौ होस।" यति भनेर कँक्प मँक्पा आफै आत्मादाह  गर्यो। 

अझै पनि खार्तम्छाको बुढापाकाहरु यो गाउँलाई कँक्प मँक्पाले सरापेर गएकोले गाउँमा जान्ने धामी नजन्मने र गाउँमा सह नबस्ने गरेको कुरा बताउँछन।

राम कुमार राई।