राम कुमार राई
उहिले एक समयमा उँभो खोलातिर खाबु नामको गोठालो बस्थ्यो। उसँग धेरै गाईवस्तुहरु थियो।
गाउँमा उसको परिवार भए पनि ऊ भने बाह्रै महिना गोठ मै बिताउँथ्यो। गोठलाई ऋतुअनुसार खर्कहरुमा सार्दै बस्तुभाउसँगै रमाउँथ्यो। ऊ आफ्नो पेशाप्रती अति नै खुसी थियो।
खाबुको दिनहरु यसैगरी बितिरहेको थियो। वसन्त ऋतुको समय थियो। उसको खर्कभन्दा केही तलतिर लटरम्म गहुँ, जौ र वा नामका बालीहरु पाक्नै लागेको थियो। ती फाँटहरुमा गाउँलेहरुको जौबारी थियो।
एक दिन खाना खाइसकेर खाबु त्यही फाँटतिर गाईबस्तु चराउँन गयो। गाईबस्तु चर्न थाले। ऊ भने गाउँलेहरुको गहुँ, जौ र वाको बालाहरु टिप्दै खाना थाल्यो। उसलाई त्यो मिठो लाग्यो।
अनि अरु बालाहरु पनि टिपेर खान्छु भन्दा एउटा जौ को बालाबाट राम्ररी नछोडिएको टुँडो (जौको बालामा हुने झुँस) अड्कियो। उसले जौ को टुँडो निकाल्ने अनेक प्रयास गरे।
तर निकाल्न भने सकेन।उसलाई हिक्का लागेर आयो। अरु सँग सहयोग माग्न पनि सकेन। किनकि उसले त्यो चोरेर खाएको थियो। तर हिक्का भने लगातार लागिरह्यो।
त्यही जौ को टुँडो घाँटीमा अड्किएर उसको मृत्यु भयो। र मृत्युपछि खाबु कुक्कु चरो भयो। तर, चराको जुनीमा पनि उसको घाँटीमा जौ को टुँडो ननिस्किएकोले "कुक्कु कुक्कु ...." भन्दै जंगल जंगल उडिरहेको छ भन्ने कथन छ।
यो किरात राई समुदायको लोककथा बालबालिकालाई सुनाईन्छ।(१) कोइली प्रजातिको कुक्कु चरो वसन्त ऋतुहरुमा कुक्कु कुक्कु गर्दै कराउँछ। पोथी कोइलीलाई कादम्बरी भनिन्छ। कुक्कु चरोको बैज्ञानिक नाम Cuculus Canorus हो।
राम कुमार राई
More Stories
मोको जाम्बिज नृत्य
सिलीचुङ्ग हिमाल
बाख्रा र किरात जाति