हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

बाख्रा र किरात जाति

my

राम कुमार राई


उहिले नै एक समयमा किरात रोदूका सन्तानहरुमध्ये खम्बुहाङ्ग र मेवाहाङ्ग गरि दस भाइ किरातीहरु सप्तकोशी नदी भइ पूर्व पहाडतिर लाग्यो।

पाँच पाँच भाइहरुको समुहमा उनिहरु हिडेका थिए।खम्बुहाङ्ग पाँच भाइ र नेवाहाङ्ग पाँच भाइले आफ्नो दुई जना चेलीहरुलाई साथैमा हिँडाएका थिए।

खम्बुहाङ्ग र पाँचजना दाजुहरुसँग एक जना चेली र मेवाहाङ्गलगायत पाँचजना भाइहरुसँग एक जना चेलीको अभिभारा थियो।अनि साथमा आ आफ्नो अंशमा परेको बाख्रा, धनुबाण लगायतका सामाग्रीहरु पनि लिएर आएका थिए।

खम्बुहाङ्ग र नेवाहाङ्ग दुबैजना चतरा भेगमा आइपुगे। नदीको किनारलाई पछ्याउँदै आउँदा सप्तकोसीको खुवालुङ्ग भन्ने स्थानमा पनि आइपुगे।

तर खुवालुङ्गले त्यहाँबाट माथितिर जान नदिएर बाटो छेक्यो। खुवालुङ्गसँग ठूलो शक्ति थियो।अनेक बिन्ती गर्दा पनि बाटो नदिएपछि खम्बुहाङ्गले रुखमा बसिरहेको मोङखो चरालाई धनु बाणले हानेर मार्यो र खुवालुङ्गलाई आफ्नो मुन्धुमबाट मनाउँदै बली दिएर खुशी पार्यो।

खुवालुङ्ग खुसी भइ बाटो छडिदियो। र भन्यो कि तिमीहरुलाई साह्रो गाह्रो पर्दा मलाई सम्झनु। मेरो मान मनितो गर्नु।सबै ठीक हुन्छ भनेर पठाइदियो। त्यसपछि खम्बुहाङ्गहरु आफ्नो बाटो लागे।

(त्यसैले खम्बुहाङ्गहरु माङखो चराको मासुलाई सुङ्गसा भनेर खाँदैनन।)


मेवाहाङ्ग लगायत अन्य भाइहरु पनि दाजुहरुलाई पछ्याउँदै खुवालुङ्ग आइपुगे। खुवालुङ्गले उनिहरुलाई पनि बाटो छेक्यो। त्यसरी नै बिन्ती गरे पनि खुवालुङ्गले बाटो दिएन। केही उपाय नलागेपछि पारी पुगिसकेको दाजुहरुलाई भाइहरुले सोध्यो।

“तपाईंहरु कसरी खुवालुङ्ग तरेर जानू भयो?” दाजुहरुको मनमा भाइहरुले पछ्याएको मन परेको थिएन। भाइहरुबाट छुटकारा पाउन उनीहरुले सिधा उपाय नबताएर भन्यो कि “खुवालुङ्गले बली माग्यो अनि हामीले त आफ्नो चेली (बहिनी)लाई भोग चढाएर आयौँ।”

त्यति भनेर खम्बुहाङ्ग दाजुहरु खुरुखुरु आफ्नो बाटो लागे। यता नेवाहाङ्ग र भाइहरु के गर्ने कसो गर्ने भन्दै कुराकानी गर्न थाले। दाजुहरुले पाप चिताएको पनि भेउ पाएनन। जसरी पनि खुवालुङ्ग पार गरेर जानू नै थियो।

तर आफ्नो प्यारो चेलीलाई बली दिन पनि सकेनन। अनि मेवाहाङ्गले एउटा उपाय निकाले “भोग दिने त हो। हामी बहिनीलाई बली नदिएर बहिनीको कान्छी औँला काटेर खुन चढाएर बिन्ती गरौँ।” यो कुरामा पाँचै भाइ सहमत भए। अनि कान्छी बहिनीको कान्छी औँलालाई अम्लिसोको पातले काटेर रगत बगाएर आफ्नो मुन्धुमबाट खुवालुङ्गलाई बाटो दिन मनाए।

खुवालुङ्गले पनि बाटो खोलिदियो। अनि भन्यो तिमीहरुको जीवनमा कुनै गाह्रो साह्रो पर्यो भने मलाई यसरी नै खुसी पार्नु। कुनै कार्यमा बाधा पर्यो भने मलाई सम्झिनु भनेर पठाइदियो।

मेवाहाङ्ग लगायत अरु भाइहरु पनि कोशी पछ्याउँदै उँभोतिर लाग्यो। तर बहिनीको औँलाबाट रगत बगिरहेको नै थियो। त्यो रगत झारपातहरुमा लतपतिएको थियो। उनीहरूसँग भएको बाख्रालाई भोक लागेर त्यही रगत लागेको झारपात खाँदै गरेको मेवाहाङ्गले देख्यो।

त्यसपछि उनीहरु बाख्रादेखि रिसाए। आफ्नो बहिनीको रगत खाने जनावर भनेर बाख्रालाई जंगल मै छोडिदिए। त्यसैले मेवाहाङ्ग लगायत साम्पाङ्ग, दुमी राईहरुले बाख्रालाई सुङ्गसा भनेर भन्ने गर्दछन।


राई भाषामा सुङ्ग भनेको अखाद्य वस्तु र सा भनेको मासु। सुङ्ग+सा= सुङ्गसा ( खान नहुने मासु।)


सोही कारण कुनै राईले बाख्राको मासु खाने र कुनै राईले नखाने गरेको हो भन्ने कथन छ।