हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

श्यप्रे लु नाच

Photo of Futuk Dance of Taplejung : Ram Kumar Rai

Hand gestures are very important for dance, acting and iconography.

Ram Kuma Rai


नाचको नाम – श्यप्रे लु नाच
नाच्ने समुदाय – ल्होमी
मुख्य स्थान – संखुवासभा


पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी भूभाग भोटखोला, पाथीभरा उत्तर र माथिल्लो अरुण उपत्यकामा बसोबास गर्ने ल्होमी समुदाय नेपालको सीमान्तकृत आदिवासी जनजाति हुन । ल्होमी समुदायको ल्होकेत भाषामा “ल्हा”े अर्थ “दक्षिण दिशा” र “मी” को अर्थ “मानिस वा मान्छे” भन्ने हुन्छ । तिव्वती भूभागभन्दा दक्षिण दिशामा बसोबास गर्ने मानिसहरुलाई ल्होमी भनिएको देखिन्छ । यसरी कुनै स्थानको स्वामित्वबोधक जनाउने समुदायको रुपमा यस जातिको नामकरण भएको देखिन्छ । यस समुदायलाई शिङसाब भनेर पनि चिनिन्छ । आफ्नो छुट्टै विशेषता बोकेको रैथाने लिखित अलिखित इतिहास, भाषा, कला, साहित्य, धर्म, परम्परा, लोकवार्ता, संस्कार र संस्कृति रहेको यस समुदायभित्र विभिन्न परम्परागत लोकनाचहरु पनि रहेका छन ।
ल्होमी समुदायको विभिन्न लोकनाचहरुमध्ये श्यप्रे लु पनि ज्यादै लोकप्रिय नाच हो । यो लोकनाच विभिन्न अवसरहरुमा नाच्ने परम्परा रहेको छ । यस समुदायको ल्होकेत भाषामा “श्यप्रे” शब्दले “नाच” र “लु” शब्दले “गीत” भन्ने बुझाउछ । विभिन्न लय र तालमा नाचिने यस लोकनाचमा धेरै किसिमका लु अर्थात गीत र खुट्टाका चालहरु रहेका छन । महिला र पुरुष दुबैको समान सहभागीता रहने यस नाचमा पुरुषहरुको समूह एक पंक्ति र महिलाहरुको समूह अर्को पंक्तिमा उभिएर सवालजवाफको शैलीमा गीत गाउदै नाच्ने प्रचलन रहेको छ ।


यस नाचमा पहिले गीतको उठान गरिन्छ । गीत गाउन जुन समूहले पनि उठाउन सक्दछ । यस नाचमा मुख्यत ः चार चरणमा नाचिने गरिन्छ । आफ्नो समुदायको मौलिक भेषभुषा र गरगहनाहरुमा सजिएर नाच्ने गाउने गर्दछन ।
यस समुदायको महिलाहरुले कपालमा चिमरकी फोताङ, टालोङ र टापिङ, चाँदीको मोहर, आठ आना र चार आनाका सिक्काहरु एकअर्कामा जोडेको, चाँदी वा तुङको सिक्री पनि एकातिर झुण्डार बनाएको श्यमुङडोङस्यो (एकप्रकारको टोपी) लगाउने गर्दछन ।
गरगहनाहरुमा अत्यन्तै धनी यस समुदायले कानमा लगाउने आलोङ, गलामा लगाउने हारी, क्षीन्तो, क्षीन्डुक्प, कीलुङ, नाडीमा दुगु कान्दा, भाङदी (सिक्काको औंठी), धुङगर, जस्ता जातीय गहना र फुच्च्येक (बख्खुजस्तो लुगा), हाङजुक, कितेन, पाङदेन, काबुबुरे, काङस (दोचाजस्तै जुत्ता), फोताङ, ओङचुक (चोलीजस्तै ुलुगा), आदि लगाउने गर्दछन ।
त्यसैगरी पुरुषहरुले कानमा ओलाङ, हातमा भाङदी, गलामा क्षीन्दो, सिमाला, फुच्च्येक, तोतुङ, काङसा (दोचाजस्तै जुत्ता), काबु, श्यमुङ, आम्सो, थाङगर, छिरिङच्यङिगप, नाम्बी तोतुङ, जस्ता गरगहना र भेषभुषाहरु लगाउने गर्दछन ।
यस समुदायको मान्यताअनुसार यस्ता गरगहनाहरु मनोरञ्जन र शौखको लागिभन्दा पनि विभिन्न प्रेतात्मा र भुतप्रेतबाट बच्नको लागि लगाउने परम्परा रहेको छ । सबै गरगहनाहरुको आफ्नो धार्मिक महत्व रहेको हुन्छ ।