Traditional dance of Nepal.
रामकुमार राई
नाचको नाम – फुटुक नाच
नाच्ने समुदाय – वालुङ
मुख्य स्थान – दिकीछ्रयोलिङ्ग गुम्बा ताप्लेजुङ
विश्वको सर्वोच्च शिखर सगरमाथाको साथै कोशी प्रदेशमा विश्वको तेस्रो वा नेपालको दोस्रो सर्वोच्च हिमशिखर कञ्चनजङ्घा पनि रहेको छ । यसै हिमशिखरको काखमा ताप्लेजुङ जिल्लाको उत्तरी सीमान्त वस्ती ओलाङचुङगोला रहेको छ । जहाँका सीमान्तकृत समुदायलाई वालुङ भनिन्छ । यो समुदाय ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, यान्मा, घुन्सा, लेलेप, याम्फुदिन, लुङथुङ, आदि स्थानहरुमा बसोबास गर्दछन । आफ्नो छुट्टै पहिचान भएको यस समुदायले विभिन्न चाड पर्व र उत्सवहरु मनाउने गर्दछन । यस समुदायले ल्होसार, साकादावा, ङ्युङने, ठुक्पाछेसी, नेसो, फुटुक, आदि प्रमुख चाडपर्वहरु हुन । त्यसैमध्येको फुटुक पर्व पनि एक महत्वपूर्ण पर्व हो ।
यस पर्वलाई धार्मिक विधिविधानसहित नाचगान गरेर मनाउने गरिन्छ । यस गाउँको दिकीछ्योलिङ गुम्बापरिसरमा दसैं र तिहारको बीचमा १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यद्यपि अन्य दिनहरुमा धार्मिक कार्यहरु सम्पन्न गरिन्छ भने पर्वको अन्तिम तीन दिन चाँही देवताहरुको विभिन्न आकृतिका मुकुण्डो र भेषभुषाहरु लगाएर नाच्ने गरिन्छ । यो परम्परागत नाच मनोरञ्नात्मक हुनुका साथै शास्त्रीय हिसाबले नाच्ने गरिन्छ ।
यस नाचहरुमा स्थानीय ग्यावो र छिमेकी थुदामको ग्यावोहरुको बीचमा भएको युद्धहरु प्रदर्शन गरिन्छ । यस परम्परागत नाचलाई स्थानीयहरु छ्याम भन्ने गर्दछन । यस परम्परागत नाचमा लामाका मन्त्रहरु नै गीतको रुपमा रहेको हुन्छ । प्रत्येक दिन नाचको विषयवस्तु र नाचको प्रकारहरु फरक फरक नाच्ने प्रचलन रहेको छ । तर पनि नाचमा देवता र राक्षसबीचको युद्ध नै प्रमुख विषय रहेको हुन्छ । यस नाचमा ङा (ढ्याङ्ग्रो) र रोमु (झ्याम्टा) प्रमुख बाजाको रुपमा बजाउने गरिन्छ ।
Dance Researcher
More Stories
मोको जाम्बिज नृत्य
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच