हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

काठमाडौंको न्यतभुलु प्याखँ

Nepali Dance

Nepali Dance

रामकुमार राई

सहायक प्राध्यापक

सिर्जना कलेज अफ फाइन आर्टस्

पृष्ठभूमि

नेपाल मण्डलभित्र मनाइने विभिन्न जात्रामध्ये “पाहाँचरे” जात्रा पनि एक हो । यो चाड हरेक वर्ष चैत्रकृष्ण चतुर्दशीेदेखि प्रतिपदासम्म विभिन्न सांस्कृतिक अनुष्ठानसहित मनाइन्छ । शाब्दिक रुपले “पाहाँ” भनेको पाहुना र “चरे” भनेको चतुर्दशी हो । पाहुनालाई बोलाएर खुवाउँदे मनाइने जात्रा भएकोले यसलाई “पाहाँचरे” भन्ने गरिएको हो ।

नेपालमण्डलमा नेवार समुदायले पाहाँचरे जात्रालाई भव्यसँग मनाउने भएकोले यस जात्राको सांस्कृतिक तथा नृत्यकला प्रस्तुतिका हिसाबले महत्व रहेको छ । यस पर्वलाई “पिशाचचतुर्दशी” पनि भन्ने गरिन्छ । पाहाँचरेको दिन “लुकुमहाद्यः”लाई पनि तान्त्रिक विधिद्वारा पूजा गर्ने गरिन्छ । यही जात्राका दिन काठमाडौंको नरदेवीमा श्वेतकाली अजिमाको जात्रा गर्ने गरिन्छ । नरदेवी अजिमाको जात्रासँगै नरदेवीको “दबुः” (डबली) मा “न्यतभुलु प्याखँ” प्रदर्शन गरिन्छ ।

नरदेवीको बाह«वर्षे नाचलाई काठमाडौंका प्रायः सबै टोलमा गएर प्रदर्शन गर्ने गरिन्छ । यस नाचमा सोह« जनाभन्दा बढी देवदेवताका गणहरुको “प्याखँ” (नृत्य) प्रदर्शन गरिन्छ । यसमा देवगण र दानवगणका नृत्यहरु प्रदर्शन गरिन्छ । हरेक बाह« वर्षमा प्रदर्शन गरिने विशेष जात्रा वा नाचबाहेक हरेक वर्ष नरदेवी दबुःमा न्यतभुलु प्याखँ प्रदर्शन गर्ने गरिन्छ । हरेक वर्ष प्रदर्शन गरिने नाचमा बाह« जना देवीदेवताका गणहरु मात्र नाच्ने गर्छन् ।

यो संक्षिप्त लेखमा “न्यतभुलु प्याखँ”को सांस्कृतिक तथा कलात्मक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ ।

न्यतभुलु प्याखँको ऐतिहासिकता

यस देवीनाचको सुरुआत कसरी भएको थियो, यसको थालनी कसले र कहिलेदेखि गरेको थियो, किन गरिएको थियो, आदि विषयबारे कुनै प्रमाण उपलब्ध छैन ।

काठमाडौं उपत्यकामा मातृका देवीहरुको पूजाअर्चना गर्ने परम्परालाई अध्ययन गर्ने हो भने लिच्छविकालभन्दा अगाडिसम्म पुग्न सकिन्छ । त्यसैले केही संस्कृतिविद्हरुको मतअनुसार नरदेवीको पूजा गर्ने प्रचलन लिच्छविकालदेखि नै थियो । लिच्छविकालमा शक्तिपीठको स्वरुपका रुपमा मातृका देवीहरुको पूजा गरिन्थ्यो भन्ने तथ्यलाई पुष्टि गर्ने प्रमाणहरु उपलब्ध छन् ।

वंशावलीमा उल्लेख भएअनुसार यही परम्पराको निरन्तरतास्वरुप इस्वी संवत दशौं शताब्दिमा राजा गुणकामदेवले नरदेवीको मन्दिर स्थापना गरेका थिए । त्यसैलाई आधार मानेर श्वेताकाली अजिमाको मन्दिर बाह«ौं शताब्दिमा भएको मानिन्छ । उक्त समयदेखि नै न्यतभुलु अजिमाको “प्याखँ” वा नृत्य प्रस्तुत गर्ने परम्परा थियो भन्ने विश्वास गरिन्छ ।

कान्तिपुरका राजा अमर मल्ल (इ.सं. १५३०–१५६०) ले विभिन्न देवीदेवताका मुकुट र मुखुन्डो लगाएर नाच्ने परम्पराको सुरुआत गरेका थिए भन्ने उल्लेख पाइन्छ । शाह वंशीय राजा रणबहादुर शाहले न्यतभुलु प्याखँलाई अझ सुव्यवस्थित गरेका थिए । हाल यस नृत्यको व्यवस्थापन नरदेवीको गुठीले गर्दै आएको छ । यस देवीको उत्पत्तिका सम्बन्धमा विभिन्न भनाइहरु रहेका छन् ।

एक किंवदन्तीअनुसार लोकको उद्धारका लागि “चः स्वाँ” (एक किसिमको फूल) बाट नरदेवी अजिमाको उत्पत्ति भएको हो । बनेपाका राजा शिकार खेल्न नरदेवी आउँदा किलागलमा हात्तीको आक्रमणमा परेका र ती राजाको रक्षार्थ न्यतभुलु अजिमा प्रकट भएकी थिइन भन्ने किंवदन्ती पनि रहेको छ ।

लोकोक्तिअनुसार देवी प्रकट भएपछि मन्दिरको ढोकाहरु आफैं खुल्ने गर्छ । मन्दिरको ढुकुटीसमेत आफैं खुल्छ भन्ने मान्यता रहेको छ । ढुकुटीमा राखिएका वस्त्राभूषणहरु निकालेर देवीदेवताको चारित्रिक भूमिका प्रस्तुत गर्ने देवगणलाई लगाइदिने गरिन्छ । विभिन्न कथनअनुसार मध्यकालको प्रारम्भ ताकादेखि नै “न्यतभुलु प्याखँ” नाचिँदै आएको प्रष्ट हुन्छ ।

न्यतभुलु जात्रा र प्याखँ

हरेक वर्ष चैत्रकृष्ण चतुर्दशीदेखि प्रतिपदा तीन दिन मनाइने नरदेवी जात्रालाई प्रत्येक बाह« वर्षमा विशेष गरी मनाउने गरिन्छ । नरदेवीस्थित “द्योः छेँ” (देवीको मूलघर) बाट श्वेतकाली अजिमाको जात्रा शुभारम्भ हुन्छ । पाहाँचरे जात्रा र नरदेवी अजिमाको जात्रा एकै समय हुने गर्छ ।

जात्राको पूर्वसन्ध्यामा “द्योः छेँ” बाट देवीदेवताका गणहरुको यात्रा आरम्भ भई कान्तिपुर नगरका भित्री बस्तीहरु नरदेवी, टेङ्गल, बाङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरबार, चिकँमुगल, जैसीदेवल, क्वहिती, भीमसेनस्थान, मरु काष्ठमण्डप, यट्खा हुँदै पुनः देवीको मूल घरमा फिर्तिसवारी गर्ने प्रचलन रहेको छ । जात्रासँगै नरदेवी मन्दिर अगाडिको “दबुः” (डबली) मा खुला रुपमा विधिपूर्वक पूजाअर्चना गरी यो “प्याखँ” नचाइन्छ ।

तान्त्रिक विधिद्वारा देवीदेवताहरुको पूजा गरी डबलीमा न्यतभुलु प्याखँ देखाउने चलन रहेको छ । नरदेवी गुठीभित्र भएको पवित्र स्थानमा देवीहरुको पहिरन विधिवत् पहिरिएपछि पूजाअर्चना गरी यो नाच सुरु गरिन्छ । हरेक वर्ष मनाइने नरदेवी जात्रामा बाह« जना देवीदेवताहरुको गण “प्याखँ” मा सहभागी हुन्छन् भने बाह« वर्षमा मनाइने जात्रामा भने करिब पन्ध्र÷सोह« जना देवीदेवताहरुको गण नाच्ने गर्दछन् ।

“न्यतभुलु प्याखँ” प्रदर्शन गरिनु अगाडि “ठाकुली” (गुठीभित्रका सबै जनामध्ये ज्येष्ठ व्यक्ति) ले बोकेको “शिवद्यः” वा “पूर्णकलश”लाई डबलीमा स्थापना गरिन्छ । त्यो स्थापना गरेर प्रज्ज्वलित गरिसकेपछि मात्र क्रमानुसार देवीदेवताहरुको नाच प्रदर्शन गर्ने गरिन्छ । “ठकुली”सँगै पूर्णकलश र चिरागको पछि लागेर देवीदेवताहरुका गण डबलीसम्म जाने गर्छन् । त्यसभन्दा पहिले दुई जना बाद्यवादकहरुले दबुःमा परम्परागत बाजा म्वाली र नगाडा बजाउने गर्छन् । त्यसपछि प्वाँग, दङ्ग, छुस्या, भुस्या, ताः, आदि बाजाहरु बजाएर देवीदेवतासँग सम्बन्धित गीतहर गाइन्छ । देवीदेवताहरु द्योःछेँबाट डबलीमा पुगिसकेपछि तिनको पूजा र दर्शन गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । पूजाका थाली लिएर आएका भक्तजनहरुले डबलीमा रहेको कलश र देवीदेवताहरलाई पूजा गर्ने गर्छन् ।

पूजामा प्रायः महिलाहरको सहभागिता रहेको हुन्छ । सोही वर्ष विवाह भएका नयाँ दुलहीहरुले कलश र अन्य देवीदेवतालाई पूजा गर्ने परम्परा रहेको पाइन्छ । न्यतभुलु प्याखँमा देवदेवीगण हरेक वर्ष नियमित गरिने नाचमा बाह« जना गणको नृत्य प्रदर्शन गरिन्छ । त्यसैगरी बाह«बर्से नाचमा देवीदेवताका गणमा अठार जना रहने गर्दछ । डबलीमा देवीदेवताहरु पालैपालो नाच्ने गर्छन् । “न्यतभुलु प्याखँ” मा मुख्य चार जना देवीदेवतालाई प्राथमिकता दिइन्छ । तीमध्ये श्लेतकालीलाई पहिलो स्थानमा राखिन्छ । श्वेतकालीपछि कुमारी र बाराहीलाई प्राथमिकताका साथ पूजा गर्ने गरिन्छ ।

नाच सुरु गर्नुअगाडि “क्षमापूजा” र “कलश साधना” गरिन्छ । जगत् उद्धारका लागि शक्तिस्वरुपाले दर्शन दिएको महान् दिनको रुपमा हरेक वर्ष पाहाँचरेका दिन नरदेवीस्थित देवीको डबलीमा न्यतभुलुसहति देवीदेवताहरुको एकल तथा सामूहिक नृत्य प्रदर्शन हुने गर्दछ । “न्यतभुलु प्याखँ” का देवीदेवताका गणमा गणेश, कुमारी, बाराही, ब्याग्रिनी, महालक्ष्मी, ब्राह्मयणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिंहिनी, भैरब, न्यतभुलु÷श्वेतकाली, दैत्य, खिचा, ध्वँ, कुमार, चण्डेश्वरी, करुणामय, महाद्योः रहेका छन् । नरदेवीको “न्यतभुलु प्याखँ” मा बाह«बर्से नाचमा माथि उल्लिखित देवीदेवताका अतिरिक्त दैत्य, खिचा, ध्वँ, करुणामय, महाद्योः, कुमार, चण्डेश्वरी आदि पात्रहरु पनि हुन्छन् ।

यो “प्याखँ” वा नाचमा गणेश, कुमारी, बाराही, ब्याग्रिनी, महालक्ष्मी, ब्राह्मयणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिंहिनी, शिवद्यः, भैरब र न्यतभुलु वा श्वेतकालीका मुखुण्डो लगाएर नाच प्रदर्शन गरिन्छ । प्रत्येक देवीदेवताका लागि आ–आफ्नो भिन्न प्रकारका मुखुन्डो, मुकुट र वस्त्राभूषण रहेका हुन्छन् । बाह«बर्से नाचमा भने नरदेवीको दबुःका अतिरिक्त काठमाडौंका विभन्न प्राचीन डबलीहरु तथा ललितपुर, भक्तपुर, कीर्तिपुर, एवम् बनेपाका प्राचीन दरबारहरुको मूल दबुःहरुमा “न्यतभुलु प्याखँ” प्रदर्शन गर्ने परम्परा रहेको छ ।

नरदेवी दबुः र देवीनाच

हरेक वर्ष नरदेवी मन्दिरअगाडि रहेको दबुःमा न्यतभुलु प्याखँ प्रस्तुत गरिन्छ । पश्चिम मोहोडा फर्किएको यस डबलीमा पूर्व दिशामा पूर्णकलश वा शिव द्यः स्थापना गरिएको हुन्छ । पूर्वोत्तर दिशामा अखण्ड चिराग राखिन्छ । दक्षिण दिशामा गायन मण्डल र बाद्यवादकहरु बस्ने गर्छन् । पश्चिम र उत्तर दिशातर्फ भक्तजन र दर्शकहरु उभिएर नाच अवलोकन गर्छन् । पानी परेको अवस्थामा समेत नाच नरोकियोस्, यसका लागि दबुःको माथि बिचमा देवीदेवताहरुको पौभासहितको छानो वा छत्र टाँगिएको हुन्छ । यसै छानोको सिधा मुनिका खुल्ला मञ्चमा “न्यतभुलु प्याखँ” प्रस्तुत गरिन्छ ।

विभिन्न परम्परागत लोकबाजाहरु पोँगा, भुस्या, तिन्छु, खिँ, आदि बजाउने गरिन्छ । यी सबै जोडी बाजाहर हुन् । बाजको बोल, ताल र लयमा डबलीमा क्रमशः बाराही, भैरब, कुमारी, श्वेतकाली, सिंहिनी र ब्याग्रिनीका नाचहरु प्रस्तुत गरिन्छ । त्यसपछि केही समय विश्राम लिइन्छ । विश्रामपछि कुमारी र न्यतभुलु वा श्वेतकालीको नाच हुन्छ । अन्त्यमा सामूहिक नृत्य प्रस्तुत गरिन्छ । पुनः बाराही देबी नृत्य गर्दै निस्किन्छिन् । यसपछि सहयोगीले मुखुन्डो र मुकुट निकालिदिने गर्छन् ।

बाराहीपछि क्रमशः भैरव, कुमारी, श्वेतकाली, पालैपालो डबलीमा आएर सामूहिक नाच गर्छन् । सामूहिक प्रस्तुतिमा अन्तिमको ताल बजाइन्छ । सबै देवीदेवताले गोलाकार बनाएर प्रस्तुत गर्छन् । विश्रामभन्दा पहिलेको चरणमा एकल नृत्यपछि सामूहिक नृत्य प्रस्तुत गरिन्छ । त्यसपछि सहयोगीहरुले सबै देवीदेवताका मुकुट र मुखुन्डो फुकाल्ने गर्छन् । प्रत्येक देवीदेवताका लागि एक एक जना सहयोगी रहने व्यवस्था गरिएको हुन्छ । ती सहयोगीले देवीदेवतालाई मञ्चसम्म ल्याउने र समाप्तिपछि मञ्चबाहिर लैजाने गर्छन् ।

प्रत्येक नृत्यलाई तीन खण्डमा प्रदर्शन गरिन्छ । पहिलो खण्डमा बाजाको तालमा मात्रै देवीदेवताले आफ्नो पात्रसहित नाच्ने गर्छन् । त्यसपछि बाजाको ताल परिवर्तन गरेपछि सहयोगीले पात्र वा आयुधलाई पूर्णकलशमा लगेर राखिदिन्छन् । त्यसपछि गीतर तालमा नाच्ने गर्छन् । यसरी गीतसहितको खण्डमा देवीदेवताले दुबै हात सञ्चालन गरेर नाच्छन् । यसपछि अन्तिममा आयुध लिएर बाजाको तालमा मात्रै नाचेर प्रत्येक देवीदेवताले नाच्ने गर्छन् । भक्तजनहरुले देवीहरु नाच्दै गर्दा पनि फूलपाती चढाउने गर्छन् ।

यस नाचमा देवदेवीगणहरुको भोगको लागि बाह«बर्से जात्राको नाचमा दुई ओटा राँगा र पाँच ओटा थुमाको बलि दिने गरिन्छ । हरेक वर्ष प्रदर्शन गरिने नाचमा भने एउटा राँगो र थुमाको बलि दिने गरिन्छ । देवीहरुले बलि दिइएका जनावरको आलो रगत सेवन गर्ने गर्छन् ।

न्यतभुलु प्याखँको सङ्गीत

प्रदर्शन कलाअन्तर्गत सङ्गीत पनि पर्ने गर्छ । यस नाचमा बजाइने विभिन्न तालहरु मौलिक रहेका छन् । यस तालका बोल, मात्रा, विभाग, ताली, खाली, बाजा बजाउने पद्धति आदिको अध्ययन गर्नु नितान्त आवश्यक रहेको छ । यी बजाउने विधि पद्धतिको ज्ञानबिना नाच नाच्न नसकिने भएकोले पनि स्वरलिपि तथा ताललिपिको अध्ययन गर्नुपर्ने हुन्छ ।

बाद्यवादकहरुको समूहको पनि यस नाचमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । सबै बाद्यवादकहरले सेतो वस्त्र धारण गरेका हुन्छन् । बाद्यवादकहरुले देवीदेवताहरुको नाच सुरु हुनुभन्दा अगाडि एकै किसिमको ताल बजाउँछन् । देवीदेवता प्रवेश हुँदा पनि एक किसिमको ताल बजाइन्छ । बिचमा गीतसहितको तालमा नाचिन्छ, बजाइन्छ । अन्त्यमा, बाजाको तालमा मात्रै नाचेर देव वा देवीको एकल नृत्य प्रदर्शन गरिन्छ । यसरी तीन चरणको ताल र लयमा देवीदेवताले तीन किसिमका चालहरु प्रदर्शन गर्छन् । परन्तु सिंहिनी र ब्याग्रिनीको नाचमा दुई किसिमको मात्रै तालहरु विलम्वित र द्रूत लयमा बजाइन्छ ।

केही मान्यता

अर्को टोल वा गाउँबाट विवाह गरेर ल्याइएकी नवदुलही हो भने पहिलो वर्ष पूर्णकलशको अनिवार्य पूजा गर्ने प्रचलन रहेको छ । त्यसले गर्दा परिवारमा सुख शान्ति छाउने र घरमा सम्पन्नताले भरिपूर्ण हुने जनविश्वास रहेको छ । यस देवीनाचमा कलाकार भएर नाचिसकेपछि जीवनभर आफ्नो कपाल काट्न मिल्दैन भन्ने धारणा रहेको छ । त्यसैगरुी न्यतभुलु अजिमाको पूजा अवधिभर नुन खान नहुने नियम रहेको छ । यस देवीलाई गुठीयारहरुको घरबाट नियमित पूजा गर्ने गरिन्छ । डबलीमा नाच सकिएपछि “सगँ” (सगुन) दिइन्छ र “द्योः छेँ” मा लगिन्छ । यस नाचमा सिंहिनी सबैभन्दा अगाडि र ब्याग्रिनी पछाडि बस्ने गर्छन् । सिंहिनी र ब्याग्रिनीले अन्य देवीदेवताको पनि रक्षा गर्ने विश्वास गरिन्छ ।देवीदेवताहर नाचिसकेपछि भक्तजनहरुले पूर्णकलशको पूजा गर्ने, फूल, धुम, माला, दीप, बत्ती, भेटी, फलफूल आदि चढाउने गर्छन् ।

निष्कर्ष

लिच्छविकालदेखि सुरु भएको भनिएको “न्यतभुलु प्याखँ” प्रदर्शन कलाका हिसाबले पनि महत्वपूर्ण रहेको छ । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले मात्रै होइन, प्रस्तुति कलाका पक्षबाट पनि यसको अध्ययन गरिनु आवश्यक छ । यसमा प्रयुक्त बाजा, गीत, भेषभूषा, आभूषण आदिबारे पनि सघन रुपमा अध्ययन गरिनुपर्ने देखिन्छ । यो नाच धार्मिक रुपले विशिष्ट किसिमको शाक्त तथा तन्त्रमा आधारित जात्रा र नृत्यकला हो । सांस्कृतिक रुपमा नेपालका अमूल्य अमूर्त संस्कृतिहरुमा “न्यतभुलु प्याखँ” को आफ्नै विशष्टि महत्व रहेको छ । नृत्यकलाका हिसाबले पनि यो प्याखँ हाम्रा पूर्वजहरुको अद्भूत सिर्जना हो र यस्ता परम्परागत “प्याखँ” हरुलाई समुदायको अनुमतिमा शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमा अझ सान्दर्भिक हुन सक्छ । नेपालभरिका परम्परागत नृत्यकलाप्रति शैक्षिक संस्था, कलालेखक, समीक्षक र सरोकारवालाहरुमा चासो र जागरण अपरिहार्य छ ।

नोट ः सिर्जना कलेज अफ फाइन आर्टस्द्वारा प्रकाशित लावण्य वार्षिक पत्रिकामा प्रकाशित लेख ।