रामकुमार राई
कलेजमा केही क्षण फुर्सद भयो कि कुनै न कुनै कला साधना भैरहेको कक्षामा चियाउँने मेरो घटिया बानी थियो । यदाकदा कलाकार सम्झना राजभण्डारी म्यामको “छापा कला” (Print Making) सम्बन्धि कक्षामा पनि मेरो जिज्ञासाहरु प्रवेश गर्थ्यो ।
मलाई सहृदय आफ्नो कक्षामा पसेर कला सिर्जना नियाल्ने अनुमति मात्र नदिई छापा कलालाई सरल ढंगले बुझाउने प्रयास पनि गर्नुहुन्थ्यो । मैले पनि सतही रुपमा केही बुझेको जस्तो गर्थेँ ।
राजभण्डारीको कलाकृति (तल फोटोमा) लाई निकै गम्भीर भएर हेरेँ र केही अनुभूत गरेँ ।
केही समययता राजभण्डारीले ‘स्ट्याम्प सिरिज’ मार्फत आफ्नो छापा कलालाई निरन्तर सिर्जना र प्रदर्शनी गरिरहनु भएको छ । त्यसै शृङ्खला अन्तर्गतको यो कलाकृति एक उत्कृष्ट नमुना हो। उहाँको कलालाई कला सिद्धान्तका आधारमा यसरी हेर्ने प्रयास गरेको छु ।
(क) स्मृति र सम्पदाको सम्मान –
यो कलाकृतिको मुख्य दार्शनिक पक्ष भनेको स्मृति र सांस्कृतिक जगेर्ना हो। राजभण्डारीले आफ्ना बुबाको हुलाक टिकटहरूको सङ्ग्रहबाट प्रभावित भएर यो सिरिज तयार पार्नुभएको हो भनेर नाफाको प्रदर्शनी कार्यक्रममा बताउनु भएको थियो ।
विषयवस्तुको हिसाबले लिच्छविकालीन सिक्का र ऐतिहासिक प्रतीकहरूलाई हुलाक टिकटको ढाँचामा प्रस्तुत गरेर उहाँले आफ्नो कलाको माध्यममार्फत नेपालको गौरवशाली इतिहास र वर्तमानलाई जोड्ने प्रयास गर्नुभएको छ।
आम मानिसलाई ‘तुच्छ’ र ‘साधारण’ लाग्ने वस्तुहरु कुनै कलाकारको हात पर्यो भने त्यस वस्तुको अर्थ र सौन्दर्यमा कसरी मूल्य स्थापित हुन्छ भन्ने दार्शनिक मान्यतालाई पुष्टि गर्छ।
(ख) कला सिद्धान्त र प्रविधि –
यो कलाकृतिलाई उडकट प्रविधिबाट तयार पारिएको हो, जसमा काठलाई खोपेर छाप बनाइएको हो । यो चित्रमा लिच्छविकालीन सिक्काका आकृतिहरू जस्तै ‘सिंहाकृत’ र ‘देवताका आकृति’ प्रयोग गरिएका छन्। यी प्रतीकहरूले शक्ति, समृद्धि र धार्मिक आस्थालाई जनाउँछन्। हुलाक टिकटको विशिष्ट आकार र प्रतीकहरु जस्तै: दाँती परेको किनारा, थोप्लाहरु, विषेश मोटिफहरु, भित्र ऐतिहासिक सिक्कालाई केन्द्रमा राख्नुले एक प्रकारको ‘फ्रेम भित्र फ्रेम’ को रोचक संरचना तयार पारेको छ।
(ग) शैली –
यो कलाकृतिमा परम्परागत नेपाली लोककला र आधुनिक प्रिन्टमेकिङ्ग को सुन्दर मिश्रण देखिन्छ । प्रिन्टमेकिङ्गको मुख्य विशेषता नै एउटै आकृतिको बहु-उत्पादन हो। तर उहाँले प्रत्येक प्रिन्टलाई ‘नेपाली लोक्ता’ कागजमा हातैले छाप्ने हुनाले हरेक प्रति आफैमा मौलिक देखिन्छ। हस्तनिर्मित नेपाली लोक्ता कागजको प्रयोगले यसलाई मौलिक नेपाली कलाको पहिचान दिएको छ। यसले यथार्थवाद र आधुनिकतावादलाई जोड्ने काम गरेको छ ।
अन्ततः राजभण्डारीको यो कलाले केवल हुलाक टिकट वा सिक्काको चित्रण मात्र गर्दैन, बरु यसले हाम्रो विस्मृतिमा जान लागेको इतिहासलाई कलात्मक पुनर्जन्म दिएको छ। यो कलाकृति इतिहास, भावना र प्रविधिको त्रिकोणात्मक सङ्गम हो।
Ramesh Rai (Arts Critiques).
Samjhana Rajbhandari (Senior Artist).
More Stories
चित्रकला र मन्त्रको सम्मिलन
चित्रभित्र नृत्य
दर्शकको रुपमा कलाकार