हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

दर्शकको रुपमा कलाकार

The great art of Navindraman Rajbhandari.

The great art of Navindraman Rajbhandari.

रामकुमार राई


एउटा चित्रकारले आफ्नो भावना क्यानभासमा रेखा र रङद्वारा खेल्छ भने सङ्गीतकारले लय, ताल र ध्वनिको क्यानभासमा स्वरहरूसँग खेल्छ, त्यसैगरी एउटा नर्तकले सङ्गीतको क्यानभासमा अङ्गहरुसँग खेल्छ । तसर्थ चित्रकला ‘देखिने सङ्गीत’ हो भने सङ्गीत ‘सुनिने चित्रकला’ हो, अनि नृत्य “देखिने र सुनिने चित्रकला” हो ।

सन्दर्भ : कला लेखक र कलाकार नवीन्द्रमान राजभण्डारीको अमूर्त चित्र (तल दिएको कलाकृति) र फ्रान्सेली सङ्गीतकार क्लाउड डिब्युसीको सङ्गीतबीचका समानताहरूलाई संक्षिप्त विवेचना गर्दा मैले अनुभूत गरेका केही तथ्यहरु प्रस्तुत गरेको छु ।

(क) दृश्य र श्रव्य ‘टेक्सचर’ मा समानता –

  • राजभण्डारीको यो कलाकृतिलाई ध्यान दिएर हेर्दा रङहरू सिधा छैनन्, त्यहाँ साना-साना घुम्रिएका रेखाहरूको एउटा जटिल जालो छ। यो चित्रमा रातो, नीलो र पहेँलो रङभित्रको यो सूक्ष्म बनावटले चित्रलाई ‘फ्ल्याट’ हुन दिँदैन, बरु यसले एउटा मीठो हलचल सिर्जना गर्छ।
  • डिब्युसीको सङ्गीतलाई पनि शान्त भएर सुन्दा खेरी ध्वनि तथा स्वरहरूलाई सीधा प्रयोग गर्नुको साटो धेरै साना-साना ‘नोट्स’ हरूलाई मिलाएर एउटा तहहरु सिर्जना गरेको आभास हुन्छ, जसलाई सङ्गीतमा ‘टिम्ब्रे’ भनिन्छ। फरक समय, संस्कृति, भुगोल र विधाका दुवै कलाकारको फरक कलाकृतिले एकै प्रकारको ‘झङ्कार’ महसुस गराउँछ ।

(ख) स्पष्ट आकारको अभाव र अमूर्तता –

  • राजभण्डारीको कलाकृतिमा कुनै ठोस वस्तुको आकृतिहरु छैनन। यसले एउटा ऊर्जा वा ज्वालाको आभास दिन्छ, तर पूर्ण रूपमा दर्शकको कल्पनाशक्तिमा छोडिदिएको छ।
  • डिब्युसीको सङ्गीत रचनाहरू (जस्तै: Clair de Lune) मा पनि कुनै स्पष्ट ‘मेलोडी’ सुरु भएर अन्त्य हुँदैन। स्वरहरू बादल जस्तै तैरिन्छन्। दुवै कलाकारले आफ्ना कलाकृतिको ‘निश्चित अर्थ’ भन्दा ‘भाव’ लाई बढी प्राथमिकता दिन्छन्। त्यसैले दर्शकले बहुआयामिक अर्थ निर्माण र बहु-ब्याख्या गर्न स्वतन्त्रता प्रदान गरेका छन ।

(ग) रङ र मुडको खेल –
राजभण्डारीको यो कलाकृतिमा प्रयोग गरिएको गाढा रातो र चम्किलो पहेँलोले एउटा ‘तातो’ वा ‘उर्जाशील’ मुड बनाउँछ भने नीलो र खरानी रङले त्यसलाई सन्तुलनमा राखेको छ ।

  • डिब्युसीको सङ्गीत सिर्जना विभिन्न ‘कर्ड्स’ लाई चित्रकारले रङ मिसाए जस्तै प्रयोग गरेको स्पष्ट सुन्न सकिन्छ । उनले सङ्गीत मार्फत ‘दृश्य’ हरु देखाउने प्रयास गरेका छन । राजभण्डारीको यो चित्र हेर्दा डिब्युसीको कुनै शक्तिशाली र आधुनिक रचना सुनिरहे जस्तो महसुस हुन्छ।

(घ) गति र लय –

  • राजभण्डारीको यो चित्रको तलपट्टि रहेको कालो/खरानी रङको भाग स्थिर छ, तर माथिल्लो रातो आकृति माथितिर उडिरहेको जस्तो देखिन्छ।
  • डिब्युसीको सङ्गीतमा पनि यस्तै ‘अस्थिर लय’ पाइन्छ, जहाँ सङ्गीत कहिले विस्तारै बग्छ त कहिले एक्कासि तीव्र हुन्छ। त्यसैले दुबै कलाकारका फरक विधाका कलाकृतिले दर्शक र स्रोतालाई एउटा निश्चित विचार दिनुको सट्टा एउटा विशेष मानसिक अवस्थामा डोर्‍याउँदै कल्पनाको ग्यालेक्सीतर्फ लागेर छोडिदिन्छ ।

नोट – क्लाउड डिब्युसीलाई इम्प्रेसनिज्म सङ्गीतका प्रवर्तक मानिन्छ ।
थप – नृत्य र चित्रको बारेमा छिट्टै आउँनेछ ।


Ramesh Rai
Navindraman Rajbhandari