रामकुमार राई
कला दर्शनको आँखाले हेर्दा एक दर्शकको रुपमा मैले – सुनिल रन्जितको कलाकृतिहरुमा “क्यानभास – नेपाल मण्डलको कुनै चिरपरिचित दबु: (डबली) हो, जहाँ रङ्गहरु नृत्य गर्छन, भावनाहरु संवाद गर्छन ।”
मैले उहाँको कलाकृतिलाई सधैं प्राविधिक रुपमा भिजुअल आर्टस र दार्शनिक रुपमा पर्फर्मिङ्ग आर्ट्सको चस्माबाट हेर्ने गरेको छु ।उहाँको नेवा शृङ्खला अन्तर्गतको Dancing Deity (२०२५) चित्र (तल फोटोमा) लाई पर्फर्मिङ्ग आर्टसको कुनामा बसेर हेरेको छु ।
(क)अमूर्त र रङको चिन्तन – कलाकार रन्जितले रङ्गहरूलाई केवल माध्यमका रूपमा मात्र नभई ‘विशेष पात्रहरु’का रूपमा प्रयोग गरेको अनुभव हुन्छ । यस चित्रमा प्रयोग गरिएका आकृतिहरू र नृत्यरत रङहरूले भक्तपुरको प्रसिद्ध महाकाली देवी नृत्यको लयलाई दृश्यमा रूपान्तरण गरेका आभास हुन्छ ।
(ख) प्रकाश र गतिको संयोजन – यो चित्रमा प्रकाश र छाँयाको खेलले नृत्यमा हुने गतिशील कोरियोग्राफीलाई संकेत गर्छ। चित्रमा प्रयुक्त रङहरू एकअर्कामा मिसिएको र छुट्टिएको अवस्थाले दुई पात्राहरुको संवादजस्तो अनुभूति दिलाउँछ, जुन नृत्यकलाको दार्शनिक पक्षसँग मेल हुन्छ ।
(ग) पर्फर्मिङ्ग आर्टसमा देवी प्याखँ – उपत्यकाका देवी नृत्य विशुद्ध मनोरञ्जन नभई एक पवित्र तान्त्रिक अनुष्ठान हो। रन्जितको चित्रमा देखिने उग्र र शान्त रङहरूको मिश्रणले यी नृत्यमा हुने देवी-देवताका भावहरूलाई अभिव्यक्त गर्छ।
(घ) सांस्कृतिक पहिचान – प्राविधिक रुपमा पाश्चात्य र आधुनिक कला शैलीमा परम्परागत नेपाली देवी-देवताका आकृतिहरूलाई पुन: व्याख्या र पुन: रचना गरिएको छ । यसले परम्परागत देवी नृत्यका मुद्रा र हाउभाउलाई आधुनिक भिजुअल आर्टको वैश्विक कला भाषामा अङ्कित गरिएको अनुभुति हुन्छ ।
(ङ) समय र सम्बन्ध – चित्रको तुलिकाघात र नृत्यको चालहरुले लयात्मकतालाई साझा र क्यानभासलाई मञ्च (डबली) को रूपमा लिँदा चित्रकला र नृत्यको बीचको दूरी मेटिन्छ। देवी नृत्यमा नर्तकले आफ्नो भौतिक अस्तित्व बिर्सेर दैवी शक्तिसँग एकाकार भए जस्तै, यो चित्रले दर्शकलाई भौतिक आकृतिभन्दा माथि उठेर आत्मिक चिन्तनमा पुर्याउँछ।
तुर्नीमा, रन्जितको यो कलाकृति भिजुअल आर्टसमात्रै होइन, बरु “दृष्य काव्य हो, आङ्गिक कविता हो ।”
Ramesh Rai –
Sunil Ranjit
More Stories
छापाकलामा इतिहास र संस्कृति
चित्रकला र मन्त्रको सम्मिलन
दर्शकको रुपमा कलाकार