हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

jHIJHIYA DANCE

THIS IS A FAMOUS NEAPLI FOLK DANCE

राम कुमार राई

मिथिला क्षेत्रको लोकनृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको लोकनृत्य हो । यो नृत्य दशैँको समयमा धुमधामका साथ नाच्ने गरिन्छ । पूर्णरुपमा तान्त्रिक विधिविधानअनुसार नाचिने यो नृत्यको मिथिला क्षेत्रमा आफ्नै महत्व रहेको छ ।

दशैँको घटस्थापनाको दिनदेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा नाचिन्छ । नकरात्मक शक्ति वा बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ ।

यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी, आदिको प्रभावलाई निस्तेज पार्न वा कम गर्न तान्त्रिक विधिबाट अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्या प्वाँल पारिएको घैँटो त्यसकै नमुना हो ।

त्यस्तो विशेष घैँटोलाई टाउकोमा राखेर नृत्य गर्ने महिलाहरु टाउकोको दायाँबायाँ हल्लाइरहेने प्रवृत्तिले यसमा निहित विशेष अर्थको संकेत गर्दछ ।

महिलाहरुको टाउकोमा राखिएको त्यो घैँटोको प्वाँलहरु कुनै पनि नकरात्मक तत्व तथा बोक्सीले गन्न सफल भयो भने नाच्ने महिलाहरुमाथि अनिष्ठ हुन विश्वास रहेको छ ।

त्यसै कारणले सो घैँटो टाउकोमा राखेपछि जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रुपमा लगतार नाचिरहने गर्दछन ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा झिझिया गीत गाउँदै झुमी झुमी टाउकोमा घैँटो राखेर महिलाहरु चारैतिर फन्को मारेर नृत्य गर्दछन ।

यस नृत्यसँगै गाइने लोकगीतहरुमा बोक्सीलाई गाली गरिनुका साथै धाकधम्की पनि दिने गरिन्छ । नकरात्मक शक्ति तथा बोक्सीको अनैतिक शक्तिको प्रभाव गालीले निस्तेज हुने र आफ्नो सन्तान र समाजको सुरक्षा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यो लोकनाच धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, आदि भूभागमा नाचिने गरिन्छ । नेपालमा मात्रै नभएर भारतको मिथिला क्षेत्रमा पनि नाचिन्छ ।

झिझिया नृत्य कुनै समुदाय विशेषको मात्रै नभएर यो मैथिली समाजको लोकसंस्कृति हो । यस नृत्यमा आफ्नै मौलिकता, पहिचान र साँस्कृतिक इतिहास रहेको छ ।

घैँटोमाथि बल्दै गरेको दियो लिएर नृत्य गर्नु आफैमा साहास र कलाको अलौकिक प्रदर्शन हो । तर, अहिले यस्ता नाचहरु समाजबाट हराउँदै गएको छ ।

आफ्नो सखा, सन्तान, परिवार र समाजको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै, देवी दुर्गाको स्तुतिमा नाचिने नाच हो । यसमा देवीको आराधना गरिएका गीत र भजनहरु गाउने गरिन्छ ।

प्रत्येक दशैँको अवसरमा सवारी हुने भगवतीको आफ्नो श्रृङ्गार गरिएको डोलीमा चढेर आउने र कामख्याको सजीव चित्रण गरिएको गीतहरु गाउने परम्परा रहेको छ । यो नृत्य गर्न अगाडि पूर्वतयारी गर्नु पर्दछ ।

एउटा वा दुईटा स्वच्छ घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाँलहर बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा दियो बालिन्छ । त्यसमा मट्टितेल वा प्रज्वलित पदार्थ हालेर बालिन्छ । त्यसपछि टाउकोमा घैँटो राखिन्छ ।

घैँटोलाई टाउकोमा राख्नु अगाडि गाउँको ओझाबाट मन्त्रद्घारा सिद्ध गरिन्छ । बोक्सीको आँखा नलगोस भनेर धामीबाट छेकबार गरिन्छ ।

यसमा “सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी । बजर बान्हो दशो दुआरी । मटिया बान्हा,े मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।” आदि जस्ता मन्त्र गरिन्छ ।

यसरी मन्त्रले सिद्ध गरेपछि ५ देखि १५ जनासम्म महिलाहरुको टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैँटो राखेर विना हातको साहरा नाच्दै ब्रह्मस्थानमा पुगेर पूजा गर्दछन ।

यहीबाट औपचारिक नृत्य आरम्भ हुन्छ । त्यसपछि गाउँभरिका घरघरमा नृत्य गरिन्छ । प्रत्येक घरबाट पूर्ण आहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गरिन्छ ।

त्यही दानबाट विजयादशमीका दिन पूजापाठ, भोज र प्रसाद वितरणसँगै झिझिया नृत्यको विसर्जन हुन्छ ।
यस नृत्यको बलिया पक्ष भनेको गीत हो ।

यस नृत्यमा पहिलो दुई किसिमका गीतहरु हुन्छन । पहिलो देवीको स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीतहरु हुन्छन ।


“लील रंग डालीया, सबुजेङ्ग ओहरिया ।
मैयागे भिडि गेलाह बत्तीसो कहार ।।
कमरुआ देश मैआ कब जइहे गे ।


बोक्सीले भर्खरै मृत्यु भएको बालबालिकालाई चिहानबाट झिकेर उसलाई जिउँदो पारेर नाङ्गै नाच्छ भन्ने जनविश्वास रहेको छ । जो बालबालिकालाई टुनामुना गरेर मारिएको हुन्छ । त्यसैले बोक्सीलाई गाली गर्ने गीत यसप्रकारका हुन्छन ।


“बरहमके पछुआरिए डैनियां मत करिहें श्रृङ्गार गे ।
बमेलेल आरती दहिने तरुआरि गे ।
नचैत नचैत गेले डैनियां सीमा आइ पार गे ।
सँगे सँगे गेलौ डैनियां राजा कोतवाल गे ।
देख लेलकौ खागै डैनियां नङ्टे उघार गे ।
कोठाके उपर डेनिया खिडकी लगैले ना ।
खिड्की ओत्ते डैनिया गुनावा चलैले ना ।
आगे किछु होएतौ डैनिया गदहा पर चढैवौ ।
गदहा गढाए डैनियां नमुहां हसैबौ ना ।


झिझिया नृत्य मूलतः मनोरञ्जनमा आधारित लोकनाच हो । बालीनाली लगाइसकेपछि विश्राम लिएको क्षण र दशैँजस्तो चाडमा नृत्यको माध्यमबाट आनन्द लिनु, मनोरञ्जन गर्नु नै नृत्यको उद्देश्य हो ।