हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

इसाडोरा डङ्कन – आधुनिक नृत्यको अग्रणी कलाकार

Modern Dance

Modern Dance and Isadora Duncan

राम कुमार राई

इसाडोराको कथाले डङ्कनको सिर्जनात्मक प्रतिभालाई करिब करिब पूर्णरुपमा लुकाउँछ । आधुनिक नृत्यमा “अभिव्यक्तिपूर्ण गतिहरुको सुन्दरता” मार्फत गम्भीर सत्य सिर्जना गर्ने प्रयास गर्ने अग्रणी पुस्तामा उनी पहिलो नै त थिइनन ।

तर उनको नाम र निन्दनीय अभिव्यक्तिहरु पौराणिक हुस्सुको अंश बनेको छ । जसबाट आधुनिक नृत्यकलाको उदय भएको थियो ।

सन् मे २६, १८७९ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उनको जन्म भएको थियो । उनको बुबा परिवारबाट चाँडै नै टाढा भइसकेको थियो । एक दृढ इच्छाशक्ति भएकी आमा सङ्गीतप्रति निकै संवेदनशील थिइन ।

डङ्कनले आफ्नो नृत्य मञ्चहरुको लागि कन्सर्ट स्तरको सङ्गीतहरुको छनोट गरिन । आफ्नो कला यात्राको अन्तिमसम्म आफ्नो नृत्य स्वाद अनुसारको सङ्गीतकारहरुको साथमा काम गरिन ।
त्यस समयमा शिकागोमा एक विलम्वित लयमा नाच्ने नर्तकको रुपमा प्रसिद्ध भइन । तर, उनको नृत्यकलाप्रतिको बेचैन स्वभावले उनलाई न्यूयोर्कसम्म पु¥यायो ।

जहाँ उनले सामाजिक मञ्चहरुको लागि ब्याख्यात्मक नृत्यहरु गरिन । उनको सिर्जनाले न्यूयोर्कबाट लण्डनसम्म स्थानान्तरण गर्यो । उनी लण्डन पुगिन । उनले कन्सर्ट नर्तकको रुपमा सामान्य सफलता पाइन ।

लोई फुलरको नृत्य कम्पनीमा सामेल हुन पेरिस गईन । फुलरसँग विभिन्न मञ्चहरुमा भ्रमण गरिन । फुलरसँगको कलायात्राको योजनाप्रति घृणा गरेपनि उनले फुलरको नृत्य क्षमता र रचनात्मक सीपको भने प्रशंसा गरिन ।

फुलरका नृत्य शैलीको अनुकरण गर्नेहरुको निन्दा पनि गर्न भ्याइन । उनले आफ्नो स्वतन्त्र करियार सुरुवात प्राचीन ग्रीक सभ्यतामा रहेको नृत्य उत्सवहरु मनाउनका लागि थियो ।

उनले ग्रीकको शास्त्रीय ट्युनिकमा नाच्ने प्रिय ग्रीक भगवानहरुको प्रतिमाहरुको चालहरुलाई आफ्नो नृत्यमा ढालिन ।
उनको नृत्यकलामा उनले छानेको कन्सर्ट स्तरको सङ्गीतको गम्भीर लय र संवेदनशील दृष्य अनुभूति समावेश थियो ।

उनी उत्कृष्ट सङ्गीतको सुक्ष्मताप्रतिको ग्रहणशील क्षमतामा असाधारण थिइन । दर्शकहरुलाई मन्त्रमुग्ध पार्ने स्वरहरुसँग मिल्दोजुल्दो चाल र नृत्यहरु सिर्जना गर्नमा खप्पिस थिइन । तर, आफ्ना विद्यार्थीहरुलाई गतिशीलताको व्यवस्थित नृत्य शब्दावलीहरु भने दिइनन ।

उनीहरुमा आफुले महसुस गरेको सङ्गीत आवेगप्रति ग्रहणशील गराउने प्रयास भने गरिन । उनको नृत्यकला अत्यन्तै व्यक्तिगत थियो । उनले जति आफ्नो व्यक्तिगत दृष्टिकोणको तिव्रतालाई पर्याप्त रुपमा नृत्य प्रस्तुत गर्ने कार्यमा भने अरु कलाकार कोही पनि सफल भएनन । यद्यपि, उनको नृत्यहरुले उल्लेखनीय रुपमा सफल पुनरुत्थान गरेको थियो ।


यी महान कलाकारको निजी जीवन भने अत्यन्तै असंगतिले भरिएको थियो । उनले औपचारिक बिवाह नगरीकन नै दुई प्रेमी पुरुषहरुबाट तीन सन्तानलाई जन्म दिएकी थिइन ।

पहिलो प्रेमी पेरिस सिङ्गर, जो अत्यन्तै धनाढ्य थिए भने दोस्रो प्रेमी गोर्डन क्रेज थिए, क्रेज त्यस युगमा रङ्गमञ्चको एक अत्यन्तै प्रतिभाशाली व्यक्ति थिए । तीन सन्तानमध्ये जन्मिने वित्तिकै एकको मृत्यु भएको थियो । र अन्य दुई जनाको कार दुर्घटनामा सेन नदीमा डुबेर मृत्य भएको थियो ।

यस घटनाबाट विक्षिप्त भएर जीवनको अन्तिम वर्षहरुमा अत्यन्तै मदिरा सेवन गरिन । यसै समयमा आफुभन्दा बीस वर्ष कान्छा रुसी कवि सर्गेई एसेनिनसँग बिवाह गरिन ।

उनले जर्मनी, फ्रान्स र रुसमा नृत्यकलासम्बन्धि विद्यालयहरु स्थापना गरिन । तर, कुनै पनि विद्यालयले उल्लेखनीय कलाकारहरु जन्माउन सकेनन, जुन उनले धेरै अपेक्षा गरेकी थिइन ।

उनको श्रीमान सर्गेई एसेनिनले आत्माहत्या गरे । त्यसको केही समयपछि सेप्टेम्बर १४, १९२७ को दिन ओटोमोबाइल गाडीको पाङ्ग्रामा स्कार्फ बेरिएर महान नर्तकी इसाडोरा डङ्कनको फ्रान्समा मृत्य भयो ।

इसाडोरा डङ्कनलाई सम्झनु पर्ने कुरा भनेको “प्राकृतिक तर अभिव्यक्ति चालहरुसँग मिल्ने महान सङ्गीतको दर्शनको अखण्डता नै हो ।” त्यसै गरी अमूर्त सङ्गीत ध्वनिहरुलाई आकर्षक गतिमा अनुवाद गर्ने प्रतिभा भएको कलाकार उनी जतिको कोहि पनि छैन भन्दा पनि हुन्छ । उनको व्यक्तिगत जीवनको भोगाईहरुले आत्माभित्र भरिएको संवेदनाहरुलाई विभिन्न मञ्चहरुमा अद्भूत गरी पोखेर आधुनिक नृत्यको जगमा एउटा इँटा थपेर योगदान गरिन ।