हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

इफिजेनिया इन औलिस ः इसाडोराको उत्कृष्ट नृत्य कृति

Iphigenia in Aulis

Iphigenia in Aulis

राम कुमार राई

१. इफिजेनिया ( किंवदन्तीअनुसार प्राचीन ग्रीकका राजा अगामेमनन र रानी क्लिटेम्नेस्ट्राको छोरी, उनको मृत्य ग्रीसको औलिसमा भएको थियो ) ।
२. क्रिस्टोफ विलिबाल्ड ग्लुक (सन १७१४–१७८७) सयभन्दा बढी ओपेरा रचना गर्ने जर्मनी सङ्गीतज्ञ थिए ।


समकालीन नृत्यको अग्रणी सर्जक इसाडोरा डङ्कनलाई सम्झनु पर्ने कुरा भनेको “प्राकृतिक तर अभिव्यक्ति चालहरुसँग मिल्ने महान सङ्गीतको दर्शनको अखण्डता नै हो ।” त्यसै गरी अमूर्त सङ्गीत ध्वनिहरुलाई आकर्षक गतिमा अनुवाद गर्ने प्रतिभा भएको कलाकार उनी जतिको कोहि पनि छैन भन्दा पनि हुन्छ । आफ्नो जीवनकालमा करिब सयभन्दा बढी कोरियोग्राफी गरेकी थिइन । त्यसैमध्ये महत्वपूर्ण इफिजेनिया इन औलिस पनि एक हो ।


इसाडोराद्वारा कोरियोग्राफ गरिएको इफिजेनिया इन औलिसमा क्रिस्टोफ विलिबाल्ड ग्लुकद्वारा सङ्गीत थियो । यो नृत्यलाई पहिलो पटक जर्मनी, बर्लिनस्थित क्रिस्टल प्लास्टमा सन नोभेम्बर २४, १९०५ मा इसाडोरा डङ्कनद्वारा प्रस्तुत गरिएको थियो ।


युरोपको ओपेराको इतिहासमा ग्लुक ओपेरा एउटा महत्वपूर्ण मोड थियो । ग्लुकको ओपेरा सङ्गीत इसाडोरा डङ्कनले प्रस्तुत गर्न चाहेको नृत्यलाई सुहाउने कन्सर्ट स्तरको सङ्गीत थियो । उनले बनाएको वाद्ययन्त्र सङ्गीत रचनामा बाह« भागहरु थिए । त्यसमध्ये सात भागहरुमा डङ्कनले नृत्य कोरियोग्राफी गरी नाचिन ।


जब ग्लुकले ओपेराहरु सिर्जना गरे, उनले आफुलाई ग्रीसियन शैलीमा चुर्लुम्म डुबाएका थिए । त्यसैगरि डङ्कनले पनि सतही नक्कलमात्रै नभएर ग्लुकजस्तै त्यो शैलीमा कोरियोग्राफी गरेकामा खुबै बधाई प्राप्त गरिन ।

उनले ठ्याक्कै त्यसै गरिन, सङ्गीतको लयबद्ध हृदयमा प्रवेश गरेर अगामेमननको छोरी (इफिजेनिया)को चरित्रमा आफुलाई रुपान्तरण गरिन । यो अद्भूत सिर्जना थियो ।


त्यसबेला इसाडोरा डङ्कनको चरित्र र नृत्यलाई राजकुमारी मारी थेरेस (लुई चौधौंकी छोरी)को नृत्य र व्यक्तित्वसँग तुलना गरियो । त्यसैले पनि यो कृतिको कोरियोग्राफीको प्रदर्शनलाई विशेष गुणहरुको रुपमा उजागार गर्दछ ।

त्यति डङ्कनको धेरै सिर्जनामध्ये दर्शक र कलासमीक्षकबाट सबैभन्दा न्यानो स्वगात गरिएको कृति थियो इफिजेनिया इन औलिस ।

तर, नृत्य प्रस्तुतिको लागि पूर्ण अर्केष्ट्रा (वाद्यवृन्द)को आवश्यक पर्दथ्यो । जसको आर्थिक भार उनी सधैं वहन गर्न समर्थ थिइनन । त्यसैले एउटा पियानो साथमा मात्रै मञ्चन गर्न विवश भइन । अन्य कृतिहरुभन्दा कम प्रदर्शन गरिन । यद्यपि, दर्शक र कलासमीक्षकहरुको ध्यान खिच्न भने सक्षम भइन ।