रामकुमार राई
मुकेश श्रेष्ठद्वारा सिर्जना गरिएको ‘बोधिसत्व अफ नलेज’ (Bodhisattva of Knowledge) शीर्षकको सुन्दर चित्रकला मेरो पर्सनल टेबलमाथि -टेबल पात्रोको एउटा पृष्ठमा टाँगिएको छ । मैले यस अर्थमा सुन्दर चित्रकला भने कि न म चित्रकलालाई बुझ्छु, न म चित्रकलाको विद्यार्थी, त्यसो नभएर मलाई यो चित्रकला सुन्दर लाग्नुमा :
१) विषयवस्तु
ज्ञानका प्रतीक मञ्जुश्री (बोधिसत्व) लाई केन्द्रमा राखिएको छ। मञ्जुश्रीले दाहिने हातमा ज्ञानको खड्ग लिएका छन्, जसले अज्ञानतालाई काट्ने संकेत गर्छ। यो आध्यात्मिक र दार्शनिक विषयको सुन्दर प्रस्तुति हो। प्राचीन र आधुनिक कला बिचको मिलन, समकालीन कलाको उत्कृष्टमध्ये एक ।
२) शैली र प्रविधि
चित्रमा ‘मिक्स्ड मिडिया’को प्रयोग गरिएको छ। परम्परागत थाङ्का वा पौभा शैलीको देवी-देवताको आकृतिलाई आधुनिक र अमूर्त पृष्ठभूमिसँग मिसाएर एक प्रकारको ‘फ्युजन’ सिर्जना गरिएको छ। पृष्ठभूमिमा ढुङ्गा वा प्राकृतिक बनावट जस्तो देखिने ‘टेक्चर’ले चित्रलाई गहिरो आध्यात्मिक भाव दिएको छ।
३) रङ संयोजन
बोधिसत्वको आकृतिमा हल्का गुलाबी, पहेँलो र हरियो रङको प्रयोगले शान्ति र सौम्यताले मूल विषयवस्तुलाई प्रभावकारी बनाएको छ । पृष्ठभूमिका फिक्का र खैरो रङहरूले केन्द्रको रंगीन आकृतिलाई अझ हाइलाइट गरेको छ ।
४) प्रतीकात्मकता
विशाल र अलि भद्रगोलजस्तो देखिने पृष्ठभूमिको बीचमा शान्त बोधिसत्वको उपस्थितिले वर्तमान विश्वभरि फैलिएका युद्ध, भय, कोलाहल र अनिश्चितताका बीचमा सम्यक ज्ञान र ध्यानको महत्त्वलाई संकेत गरेको छ । अष्टाङ्गिक मार्ग नै स्व/आत्म, मस्तिष्क र समाजको लागि उत्तम मार्ग हो भन्ने सन्देश यस चित्रकलामार्फत व्यक्त गर्न खोजेको देखिन्छ ।
त्यसैले मलाई सुन्दर लागेको हो ।
Ramesh Rai (Arts Observer)
More Stories
चिन्तनमा कलाको प्रभाव
छापाकलामा इतिहास र संस्कृति
चित्रकला र मन्त्रको सम्मिलन