maruba
राम कुमार राई
आफ्नो भिन्नै मौलिक पहिचान बोकेको थारु समुदाय बसोबास गर्ने गाउँहरुमा मरुवा वा सामूहिक देउथान स्थापित गरिएको हुन्छ । त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष बाईस वटा देवीदेवताहरु स्थापित हुन्छन । नेपालको पश्चिम तराई क्षेत्रको मरुवामा स्थापित केही देवी देवताहरु ः–
१. डहरचण्डी – यिनी रजावर मरुवामा स्थापना गरिएको सवैभन्दा महत्वपूर्ण देवी हुन । यस समुदायमा डहरुचण्डी र द्रौपदी दुई दिनीबहिनी हुन भन्ने विश्वास रहेको छ । पूजाको सुरुवात यिनै देवीलाई पहिले धुपवत्ती अर्पण गरेर हुने गर्दछ । यो देवीको पूजा गर्दा “भूइँखैलो, भुहहार, जिमखैलो जिमदार, राजखैलो रजावर, सर्वडाहिन रहो डहरचण्डी” भन्ने मन्त्रोच्चारण गर्दै गरिन्छ ।
सबै देवीदेवताहरुको पूजा गरिसकेपछि अन्त्यमा “झुकल पुकल माफ करहो री गुनी” भन्दै पुनः यिनै देवीको अगाडी छाँकी दिइन्छ । डहरचण्डी र द्रौपदी दिदीबहिनीको प्रतीकात्मक रुपमा काठको पत्ति थानमा गाडिएको हुन्छ ।
२. झुठ्रु मसान – देवीदेवताहरुलाई खुसी पार्न नसके तिनै देवीदेवताहरु मानवलाई हानी गर्ने भूत हुन्छन भन्ने विश्वास पनि थारु समाजमा प्रचलित छ । त्यसैले नकरात्मक शक्तिलाई पनि पूजा गर्ने गरिन्छ । झुठ्रु मसान भूतजस्तो प्रतीत भए पनि यो प्रगन्न क्षेत्रको रक्षा गर्ने महत्वपूर्ण देवता हो ।
यो मसानलाई वानधुपले पूजा गरिन्छ । वानधुप भनेको “देश बान्धिया” गुरुबाले आफ्नो शरीरका आठ अङ्गहरु (निधार, निब्रो, छात्ति, पाखुरा, जाँघ, खुट्टाकोे दुबै कान्छी औंला) चिरेर रगतमा मह, गाईको घिउ मिसाइएको अक्षेता हो । यस देवताको पनि प्रतीकात्मक काठको पत्ति थानमा स्थापना गरिएको हुन्छ ।
३. मुरहा मसान – यस देवताको प्रतीकात्मक स्वरुप पूजाथानमा काठको मुङ्ग्रो स्थापना गरिने भएकोले मुरहा मसान भनिएको हो । यो देवताले जति पनि भूतप्रेतहरु छन, ती सबैलाई आफ्नो शीरस्थानमा राख्दछ भन्ने विश्वास रहेको छ । मरुवामा किला ठोकिएको मुरहा मसानको प्रतीक अरुभन्दा अलग हुन्छ । पूजाको रुपमा रगत, रक्सी, दुध र पानी चढाउने गरिन्छ ।
कसैको सरसामनहरु हराए वा चोरिएमा, सिमानाका भूतप्रेत, बोक्सीले दुःख दिएमा, तिनैको नामबाट यस देवताको टाउकोमा किला ठोकिने गरिन्छ ।
४. बहिरा रक्सा – यस देवतालाई मरुवाको पश्चिम दक्षिण दिशाको कुनामा स्थापित गरिएको हुन्छ । यस देवताको प्रतीकको रुपमा चुच्चो आकारको ढुङ्गा गाडेर स्थापना गरिएको हुन्छ । गाउँमा मान्छे हराएमा, वनमा चर्न गएको गाईवस्तु हराएमा, यो देवताको पूजा गरेमा घर आइपुग्दछ, नभएपनि चाँडै भेटिन्छ भन्ने जनविश्वास रहेको छ ।
नव दुलही भागेर नजाउन् भन्ने उदेश्यले पनि दुलही घरमा भित्र्याउनु अघि बहिरा रक्सालाई सुँगुर र कुखुराको भालेको वली दिएर पूजा गरिन्छ । त्यसैगरी, अर्को गाउँबाट किनेर ल्याएको गाई वस्तुहरु भागेर नजाओस भनेर पनि यस देवताको पूजा गरिन्छ ।
५. जगन्नठिया – यो तीन भाइृ देवताहरु हुन् । चिडी गोंगा, पटनहिया तथा जगन्नठिया तीन भाइ भएको विश्वास छ । यिनीहरुलाई मरुवा थानको दक्षिणमा स्थापित गरिन्छ । यस देवताहरुको काम देउखुरी उपत्यकामा भएको छ वटा प्रगन्ना वा चौध कोश क्षेत्रको रक्षा गर्नु हो । यस देवताको भने कुनै प्रतीक हुँदैन ।
६. भेंंरवा – यस देवतालाई ढाेंरी खम्बा (ढुरी खाँबो) पनि भनिन्छ । सबै देवीदेवताहरुलाई मिलाएर आफु सबैको बीचमा आसन गर्ने भएकोले यस देवतालाई ढुरखम्बा पनि भनिन्छ । यो सबै देवताहरुको संयोजक देवता हो ।
७. पाँचो पाण्डो – महाभारतका पाँच पाण्डव नै पाँचो पाण्डो हुन । मरुवा थानको पूर्वपट्टि पाँचवटा आशिद्ध वनस्पतिको किलाको प्रतीको रुपमा प्रतिस्थापन गरिएको हुन्छ । यिनले पनि आफ्नो क्षेत्रको रक्षा गर्ने विश्वास रहेको छ । यस देवतालाई दुध, पानी, ल्वाङ, घिउ, पाकाएको लुचुई (एक प्रकारको रोटी), आदि चढाएर पूजा गरिन्छ ।
८. पूर्वी भवानी – मरुवा थानको उत्तर पूर्वी कुनामा स्थापना गरिएको पूर्वी भवानीको कुनै पनि प्रतीक हुँदैन । पूर्व दिशाबाट आउने कुनै रोग, हैजा, जस्ता महामारी रोक्दछ भन्ने विश्वासमा यस देवीको पूजा गरिन्छ । पाँचो पाण्डोले जस्तै वलीरहित सामाग्रीहरु चढाउँने गरिन्छ ।
९. ढनवा – यो सङ्गीत सम्बन्धि देवता हो । मरुवाको पश्चिम उत्तरमा प्रतिस्थापन गरिने ढनवाको काम मादल बजाएर डहरचण्डी देवतालाई नचाउनु हो । त्यसैले हरेरी पूजामा काठको मादल बनाएर चढाइन्छ ।
१०. बाघेश्वरी – यस देवताको काम पशुपंक्षीहरुको रक्षा गर्नु हो । जंगली जनवारको आक्रमणबाट घरपालुवा जनावरहरुको रक्षा गर्ने यस देवताको मुख्य काम हो । यस देवताको पनि कुनै प्रतीक हुँदैन । तर, यस देवताको स्थानमा माटोको बाघको प्रतिमा र एउटा अण्डालाई प्रतिस्थापन गरिन्छ । यो देवता डहरचण्डी र दनुवाको बीचमा स्थापना गरिएको हुन्छ ।
११. गवरिया – यो बाह्य देवता हो । यो देवतालाई मरुवा थान भन्दा बाहिर खेतमा स्थापना गरिन्छ । देवताको प्रतीक स्वरुप खेतको डुम्ना (अग्लो ढिस्को)मा काठको पत्ति गाडिन्छ । खेतीपातीलाई किराबाट नष्ट नहोस, बालीनालीलाई रोग, हैजा, महामारी, नलागोस भनेर गवरियाको पूजा गरिन्छ ।
१२. कोटिया – यो देवतालाई पनि मरुवाभन्दा बाहिर गाउँको दक्षिण दिशामा स्थापना गरिएको हुन्छ । मरुवा थानको पश्चिममा खाल्डोे पारेर यसलाई स्थापना गरिन्छ । यसको काम दक्षिण दिशाबाट आउने रागव्याधिको रोकथाम गर्नु हो ।
१३. करैयाकोटवा – थारु भाषामा जंगललार्ई कोट्वा भनिन्छ । करैयाकोट्वा शब्दको भावार्थ घना जंगल भन्ने हुन्छ । त्यसैले योे देवतालाई जंगली देवता वा पहाडको देवता पनि भनिन्छ । मरुवा थानको पश्चिमपट्टि खाल्डो बनाएर स्थान दिइएको हुन्छ । जंगल गएको समयमा विरामी भएमा करैयाकोटवा रिसायो भन्ने कथन छ ।
१४. बडेलवा – थारु समुदायको बिवाहमा आगो र पानीको ख्याल गर्ने देवता हो । सेलरोटी पकाउँदा राम्रोे होस, खानेको स्वस्थ्यामा हानी नहोस, भनेर बडेलवाको पूजा गरिन्छ । नवदुलहीलाई कुनै दुःख नहोस भनेर गाउँ भित्राउने वित्तिकै दुलाहाको घरमा पनि नलगी मरुवा घुमाउन लगिन्छ । डोला बोक्नेले यस देवताको नाम उच्चारण गर्दै दुलहीको भलो होस र पहिलो सन्तान छोरै होस, भन्दै विभिन्न भाकाल हाल्ने गर्दछन ।
१५. कुइया पानी – यो गाउँको कुवा, धारा, नदी र घाटको देवता हो । यो देवतालाई पानीसँगै घटुरीमा (नदी घाट तार्ने) पनि भनिन्छ । यस देवताले खानेपानी शुद्ध पार्ने वा राख्न र विरामी पर्न नदिने विश्वास रहेको छ । त्यसैले होलीको समयमा कुवा, इनार, सबै गाउँबासी मिलेर सफा गर्ने गर्दछन ।
More Stories
थाङ्का कस्तो चित्रकला हो ?
साकेला सिली के हो ?
को हुन त एन्जेला इसाडोरा डन्कन ?