हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

Kumari Dance

This is a traditional and classical dance of Nepal.

राम कुमार राई

कुमारी चर्या नृत्य नेपालको एउटा प्राचीन नृत्य हो। यो नृत्य जीवित देवी कुमारी देवीको सम्मानमा गरिने शास्त्रीय नृत्य हो। यस नृत्यमा कुमारी देवीको वर्णन र स्तुति गान गरिएको हुन्छ।

अनादिकालदेखि नै बज्राचार्यहरुले कुमारी देवीलाई विश्व अथवा जगतजननीको रुपमा मानी पूजाआजा गर्दै आएको छ।साथै कुमारी चर्या गीत एवम् नृत्य रचना गरि प्रचलनमा ल्याएको पाइन्छ।

सात्विक भाव र धार्मिक भावनाले गरिने यस नृत्यमा कुमारी देवीको वीरता, शौर्य, सौन्दर्य, महानता, आदिको वर्णन गरिएको हुन्छ। कुमारीलाई बज्रयानको एकाकार पूजाहरुमा बालकुमारीको रुपमा प्रतिष्ठा गरि भक्तिभावले पूजा अर्चना गरिदै आएको छ।
कुमारी नृत्यको गीतको भावमा कुमारीलाई भर्खरैको यौवन अबस्थामा भएको बिहानीको सूर्य जस्तै रातो किरण सँग उनको रङ्गको तुलना गरिएको छ।

उहाँको तीनवटा आँखा र चार वटा हातले सुसज्जित कुमारीको हातहरुमा सिद्धिपात्रा, करती, बिन्दुमुद्रा गरेको, रातो परिधानमा भएको, मयुरको आसनमा बिराजमान भएको, सम्पुर्ण दुस्खीहरुको पीरमर्का हटाउने देवी भनेर यी भावनाहरु अभिव्यक्ति गरिएको छ।
यस नृत्यमा गीतको भाव अनुसार नृत्यकारहरुले अङ्ग, प्रत्याङ्ग, हस्तमुद्रा र पदसन्चालन गर्दै नृत्य प्रदर्शन गरिन्छ।

यस नृत्यको पदहरुमा मण्डलपद, आलिढपद, प्रत्यालिढपद, नृत्यपद, आदिको प्रयोग गरिन्छ। हस्तमुद्राहरुमा नमामी मुद्रा, श्री मुद्रा, पूजामुद्रा, अभय मुद्रा, ज्ञान मुद्रा, आदिको प्रयोग गरिन्छ।


नृत्यमा रातो जामा, तासको चौबन्दी चोली, जबी, मेखला आदि भेषभुषा लगाइन्छ। रत्नजडित विशेष प्रकारको मुकुट, घाँटीमा तायो, सुन चाँदीको सिक्री, हातमा बांँही, बाजु, खुट्टामा कल्ली, औँलामा प्यखाअङ्ग औँठी जस्ता गरगहनाहरु लगाउछन। निधारमा रातो टीका र बीचमा एउटा आँखाको चित्र बनाइन्छ।\


कुमारी नृत्य प्रस्तुत गर्नु अघि कुमारीको श्लोक प्रस्तुत गरिन्छ। श्लोकमा कुनै बाजाहरु नबजाइ श्लोकको शब्दहरुलाई नृत्यकलाकारले आफ्नो हस्तमुद्राहरु र अङ्ग सन्चालनहरु बाट त्यसको भाव व्यक्त गर्ने गरिन्छ।

कुमारी नृत्यको श्लोक


कौमारी रक्त वर्णभा शक्ति हस्ताभयानिका ।
त्रिनेत्रा यौवनाङ्गिछ नमामी शिखिवाहिनी ।।


श्लोकको समाप्ति पछि नृत्यको गीत शुरु हुन्छ। त्यस गीतमा तिन्छु, खिँ बाजाहरुले साथ दिन्छ।

कुमारी नृत्यको गीत
राग नट राग
ताल जति ताल।


आहा अरुण वदन रौद्री बाल कौमारी देवी ।
आहा रक्त त्रिनयणी मयुर आसिनी ।।
आहा प्रणमामी विश्व व्यापिनी देवी ।।धुँ।।

आहा चतुर भुजा विन्दु सिद्धी पात्र धारी ।
आहा अपार भुज शक्ति करती धारी ।।
आहा प्रणमामी विश्व व्यापिनी देवी ।।धुँ।।

आहा रक्तवस्त्र आभरण सुशोभिता ।
आहा त्रिणीभुवन व्यापिनी देवी ।।
आहा प्रणममी विश्व व्यापिनी देवी ।।धुँ।।

आहा सर्ब दुस्ख दूरिता विनासिता ।
आहा एन भक्ती सत्व अनुत्तर पुरिता ।।
आहा प्रणमामी विश्व व्यापिनी देवी ।।धुँ।।