Hand gestures are very important for dance, acting and iconography.
राम कुमार राई
संस्कृत भाषाको “मुद्” धातुबाट “प्रशन्न” अर्थ निस्पन्न हुने गरी मुद्रा शब्दको व्युत्पन्न भएको हो । मुद्रा – को अर्थ स्थिति हो । हातको औंलाहरुको तथा शरीरका विभिन्न भागहरुबाट मुद्राहरुको सिर्जना हुन्छ । तन्त्र परम्परालाई शैवतन्त्र, शाक्ततन्त्र, वैष्णवतन्त्र, गाणपत्यतन्त्र, सौरतन्त्र, बौद्धतन्त्र र जैनतन्त्र गरी सात भागमा विभाजन गरिएको छ । तन्त्रशास्त्रमा तन्त्र, मन्त्र, यन्त्र र मुद्राको साधनाबाट कार्यसिद्धि हुने कराको वर्णन गरिएको छ । योग, तन्त्र, मूर्ति, नृत्य र चित्रसम्बन्धि विषयहरुमा मुद्राको महत्वपूर्ण स्थान रहेको छ ।
मुद्रा भनेको हिन्दू र बौद्ध धर्ममा एक प्रतीकात्मक वा आनुष्ठानिक भावभङ्गिमा हो । केही मुद्राहरुमा शरीर पनि समावेश हुन्छ तर अधिकता मुद्राहरु हातको औलाहरुबाट बन्दछ । योगपरम्परामा पनि मुद्राको ज्यादै महत्वपूर्ण स्थान रहेको छ । उनीहरुले मुद्राको अभ्यासमा जोड दिएको छ ।
हिन्दू तथा बौद्ध परम्परामा मन्त्रद्वारा मात्रै सिद्धि प्राप्त नहुने हुनाले मन्त्रहरुको जपमा पनि मुद्राहरुको प्रस्तुतिकरण गर्नुपर्ने उल्लेख गरिएको छ । “हिन्दूहरुको महत्वपूर्ण गायत्रीमन्त्रको जपभन्दा पहिले २४ वटा मुद्राहरु गरिसकेपछिमात्र गर्नु सर्वोत्तम मानिन्छ ।” (थापा,२०७४, मन्त्र विज्ञान, पृ.सं. ११७) । मूर्तिकलामा पनि विभिन्न देवीदेवताहरु मूर्तिहरुका हात तथा हत्केलाहरुको विभिन्न स्थितिहरुलाई मुद्रा भन्ने गरिएको छ । कतै कतै मूर्तिकलामा मुद्रालाई हस्त पनि भनेर उल्लेख गरिएको हुन्छ । मूर्तिकलामा सामान्यतः हातको औंलादेखि काँधसम्मको भागलाई हस्तमुद्रा वा हस्त भनी बुझिन्छ ।
नृत्यकलामा हस्तमुद्रा भन्नाले हातको औंलाहरुको प्रयोगबाट निर्मित विशेष अर्थबोधक ढाँचाहरुलाई जनाउँदछ । त्यसैले नृत्यकलामा हस्तमुद्रा दुबैहातको औंला र हत्केलामात्रै समावेश हुन्छ । विभिन्न नृत्य आचार्यहरुले हस्तमुद्राको बारेमा महत्वका साथ व्याख्या विवेचना गरेका छन । तर तीमध्ये आचार्य भरत र आचार्य नन्दिकेश्वरले आफ्नो ग्रन्थहरुमा वर्णन गरेको मुद्राहरुको प्रयोग नृत्य प्रस्तुतीकरणमा आजसम्म प्रयोगमा रहेको छ ।
हस्तमुद्राको प्रकार
हातको पाँच औंलाहरु “आचार्य भरतले नाट्यशास्त्रमा असंयुक्त हस्तमुद्र्रा २४ प्रकारको र संयुक्त हस्तमुद्रा १३ प्रकारको उल्लेख गरको छन ।” (गैरोल, ई.सं. १९६७,पृ. १५६) । प्राचीनकालमा नै नृत्यकलामा एकल हातको सञ्चालन र दुबै हातको सञ्चालनबाट सिर्जना हुने हस्तमुद्राहरुको बारेमा चिन्तन भएको देखिन्छ । नाट्यवेदको रुपमा उल्लेख गरिने आचार्य भरतको नाट्यशास्त्र नै यसको प्रमाण हो ।
त्यसैगरी आचार्य नन्दिकेश्वरको अभिनयदर्पणमा आचार्य नन्दिकेश्वरले “असंयुक्त हस्तमुद्रा २८ प्रकारको र संयुक्त हस्तमुद्रा २३ प्रकारको उल्लेख गरेका छन ।यसका अतिरित्त १६ प्रकारको देवहस्तमुद्रा, १० प्रकारको दशावतार हस्तमुद्रा, ५ प्रकारको विभिन्न जातीय हस्तमुद्रा, ११ प्रकारको नृत्त हस्तमुद्रा,९ प्रकारको नवग्रह हस्तमुद्राको नाम र विनियोग पनि उल्लेख गरेका छन ।” (गैरोल, ई.सं. १९६७, पृ. १५७) ।
मूर्तिकलामा प्रयोग हुने ६४ मुद्राहरुको चर्चा वैदिक साहित्यहरुमा पाइन्छ । एउटै देवदेवीका विभिन्न स्वरुपमा हातहरुको संख्या र मुद्राहरुको वर्णन भने गरिएको छ । त्यसैगरी तन्त्रशास्त्रमा १०८ हस्तमुद्रहरुको विनियोगको उल्लेख गरिएको छ । तन्त्रमा पूजा, जप, ध्यान, काम्यकर्म, विभिन्न अवसरहरुमा बेग्लाबेग्लै मुद्राहरुले देखाउनु भन्ने शास्त्रीय निर्देश नै रहेको छ । (थापा, २०७४, पृ. ७०) ।
दुबै हातमा कनिष्ठ, अनामिका, मध्यमा, तर्जनी र अंगुष्ठ गरी पाँचवटा औंलाहरु हुन्छन । यही पाँच औंलाहरुको प्रयोग गरी नृत्यकला, मूर्तिकला, चित्रकला, आदिमा हस्तमुद्राहरु बन्ने गर्दछन । हातका यी पाँच औंलाहरु कनिष्ठ औंला जल तत्व, अनामिका औंला पृथ्वी तत्व, मध्यमा औंला आकास तत्व, तर्जनी ओैंला वायु तत्व र अंगुष्ठ औंला अग्नि तत्व गरी पञ्चमहाभूतको प्रतीकको रुपमा पनि मानिन्छ । हस्तलक्षणदीपिका ग्रन्थमा २४ मूल मुद्राहरुको उल्लेख गरिएको छ ।
नृत्यकलामा हस्तमुद्राहरु
“आङ्गिकं भुवनं यस्य वाचिकं सार्ववाङ्गमयम् ।
आहार्यचन्द्रतारादि त्वं नुमः सात्विकं शिवम् ।।” (गैरोल, ई.सं. १९६७,पृ. १५६) । यसरी आचार्य नन्दिकेश्वरको अभिनयदर्पणमा नृत्यकला चार प्रकारले गरिने बताइएको छ । ”आङ्गिकोऽङ्गैनिदर्शित अर्थत शरीरका विभिन्न अङ्गहरुको सञ्चालन गरेर, वाच्या विरचिलः काव्यनातकादि तु वाचिकः अर्थात वाणी, वाचिक, संगीत गीत, संवाद, आदिकोे प्रयोग गरेर, आहार्यो हारकेयूरवेपादिभिरलकृतः अर्थात हार तथा केयूर, आदि प्रसाधनहरुले सुसज्जित भएर तथा सात्विकःसात्विकैर्भावज्ञेन विभावितः अर्थात हावभावको सहायताले नृत्यकला गरिने उल्लेख गरिएको छ ।” (गैरोल, ई.सं. १९६७,पृ. १५२) । नृत्यकलाको सामाग्रीहरुमध्ये शारीरिक अङ्गहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ । यसैले शरीरका सम्पूर्ण स्थुल अङ्गहरु नभई नृत्यकला हुनै नसक्ने प्रष्ट छ । अन्य पक्षहरुलाई छाडेर आङ्गिक पक्षलाई मात्रै हेर्ने हो भने नृत्यकला र मूर्तिकला बिच निकट सम्बन्ध देखिन्छ । नृत्यकलामा आङ्गिक सञ्चालन र मूर्तिकलामा अङ्गहरुको तालमानको आधारमा सिर्जना गरिन्छ ।
आचार्य भरतले आफ्नो नाट्यशास्त्रमा शारीरिक नृत्यअन्तर्गत तीन भेद उल्लेख गरिएको छ । शारीरज, मुखज र चेष्टाकृत । शरीरको प्रमुख अङ्गहरुमा शीर, हात, कम्मर, पाश्र्व, खुट्टा, आदिको विभिन्न चेष्टाहरुबाट गरिने नृत्य शारीरज भनिएको छ । मुखमण्डलअन्तर्गतको प्रत्याङ्गहरुको समावेशबाट आँखा, भवें, कान, अधर, कपोल, ठाडी, आदिको नृत्यलाई मुखज तथा विभिन्न चेष्ट वा मुद्राहरुको प्रदर्शनबाट गरिने नृत्यको चेष्टाकृत उपाङ्ग नृत्य भनिएको छ । आचार्य नन्दिकेश्वरले अभिनयदर्पणमा आङ्गिक नृत्यको तीन साधनहरु अङ्ग, प्रत्याङ्ग र उपाङ्ग को उल्लेख गरेका छन । यसरी अङ्ग साधनमा अभिनयदर्पण र नाट्यशास्त्रले विभिन्न नामावलीहरु दिएका छन । “जसमा शीर, दुबै हात, बक्षस्थल, दुबै पाश्र्व, दुवै कम्मर क्षेत्र र दुबै खुट्टालाई अङ्ग साधन भनेर छुट्टाएको छ । प्रत्याङ्ग साधनमा नन्दिकेश्वरले दुबै हात, दुबै पाखुरा, पिठ्यु, पेट, दुबै उर, दुबै जांघ उल्लेख गरेका छन ।” (गैरोल, ई.सं. १९६७,पृ. १५२) । त्यसैगरी “उपाङ्ग साधनमा नेत्र, भवें, आँखाको पुतली, दुबै गाला, नाक, दुबै कुहिना,ओठ, दाँत, जिब्रो,ठोढी, मुख, दुबै घँुडा, औलाहरु, हात्केला, खुट्टाको पाइतला, आदिलाई वर्णन गरेका छन ।” (गैरोल, ई.सं. १९६७,पृ. १५३) । प्रत्याङ्ग र उपाङ्ग साधानहरुमध्ये हात र औंलाहरुलाई विशेष महत्व दिइएको छ । हस्ताअभिनय वा नृत्यमा हातको मुद्राहरुलाई प्रमुख साधन मानेका छन । हातको मुद्राहरुबिना नृत्यकला पूर्ण नहुने हुन्छ । त्यसैगरी मूर्तिकलामा पनि हस्तमुद्रा वा हस्तको रुपविना मूर्ति अपूर्ण हुन्छ । नृत्यकलाका सबै आचार्यहरुले “असंयुक्त र संयुक्त हस्तमुद्राको बारेमा महत्वकासाथ वर्णन गरेका छन ।” (गैरोल, ई.सं. १९६७,पृ. १५६) । तन्त्र तथा योगशास्त्रमा पनि हस्तमुद्रालाई महत्वपूर्ण अङ्गको रुपमा लिइएको हुन्छ ।
महामुद्रा महाबंधो महावेधश्च खेचरी ।
उड्यानं मूलबंधश्च बंंधो जालंधराभिश्चः ।।
करणी विपरीताख्या वज्रोली शक्तिशालनम् ।
इंद हि मुद्रादशकं जराभरणनाशनम ।।
महामुद्रा, महाबन्ध, महावेधष, खेचरी, उदियाना बन्धा, मूलबन्ध, जालन्धर बन्ध, विपरीत करणी, वज्रोली, शक्ति, चालन यी १० आसनहरुले जराकरणको विनासगरी ईश्वरीय देवत्व प्रदान गर्दछ भनिएको छ । तन्त्रशास्त्रमा ६ आसनको मुद्राहरु व्रक्त मुद्रा, अश्विनी मुद्रा, महामुद्रा, योगमुद्रा, विपरीत करणी मुद्रा र शोभवनी मुद्रालाई विशेष उल्लेख गरिएको पाइन्छ । त्यसैगरी ज्ञानमुद्रा, पृथ्वी मुद्रा, वरुण मुद्रा, वायु मुद्रा, शून्य मुद्रा, सूर्य मुद्रा, प्राण मुद्रा, अपान मुद्रा, अपानवायू मुद्रा, लिङ्गमुद्रा तन्त्रशास्त्रका मुख्यतः १० हस्तमुद्राहरु रहेका छन ।
योग र तन्त्र शास्त्रमा व्यक्तिको आन्तरिक स्थिति मुद्राको ज्ञान हो । व्यक्तिको आन्तरिक अवस्थाको सामान्य अभिव्यक्ति आसनबाट हुने गर्दछन । जब एक आसनले आसनहरुमार्फत प्रार्थना, पूजा, ध्यान, आदिजस्ता कार्यहरु गर्दछ । उसले मुद्राका माध्यमले नै बाहिरीबाट वा अन्तर्मुखी देखि अन्तरक्रियासम्मको यात्रा गर्ने गर्दछ । प्रसिद्ध ताओधर्ममा पनि मुद्रा परम्पराको महत्व छ । यसरी हस्तमुद्राहरु बारेमा विभिन्न प्रतिमा शास्त्रमा उल्लेख गरिएको छ ।
मूर्तिकलामा हस्तमुद्राहरु
नेपाल र भारतका मूर्तिकलामा समान किसिमका मूर्ति हस्तमुद्राहरुको प्रयोग गरिएको दखिन्छ । मूर्तिकलाको विषयवस्तु र कलाकारहरुले प्रयोग गर्ने प्रतिमाशास्त्रहरु समान भएकोले यस्तो भएको हो । नेपाल र भारतमा हिन्दू र बौद्ध धर्म र दर्शनमा आधारित मूर्तिकलाहरु धेरै रहेका छन । त्यसैले मूर्तिका हस्त वा हस्तमुद्राहरु यसै धर्मका देवीदेवताहरुको हस्तमुद्राहरु कुँदिएका छन । बौद्ध देवदवीहरुका हस्तमुद्राहरुमा निम्न प्रकारले प्रस्तुत गरिएको हुन्छ ।
१. अभय हस्तमुद्रा – भयरहित देखाउन, सुरक्षा, शान्ति, परोपकार, भयको दूर गर्न, अािद प्रतिनिधित्वस्वरुप अभय हस्तमुद्राको प्रयोग गरिएको हो । यस मुद्रामा हातको सबै औंलाहरुलाई एकअर्कासँग जोडेर सिधा ढाँचामा प्रस्तुत गरिन्छ । देवदेवीको मूर्तिकलामा अभय हस्तमुद्रालाई छातिको अगाडि राखेर हत्केलालाई भक्तजन वा दर्शकतिर फर्काइएको हुन्छ ।
२. भूमिस्पर्श हस्तमुद्रा – शाक्यमुनि बुद्धले बोधगयामा बोधी ज्ञान प्राप्तको साक्षीको रुपमा पृथ्वीलाई बोलाएको भन्ने भनाइ रहेको छ । यो हस्तमुद्रामा हातका सबै औंलाहरु एकअर्कामा जोडेर सिधा हुन्छ । त्यस्तो बनोटको हत्केलालाई जमिन वा भूमिमा औंलाहरुले छोएको हुन्छ । यस हस्तमुद्रामा हत्केलालाई आफूतिर फर्काइएको हुन्छ । प्रायः यस हस्तमुद्रामा दाहिने हातले भूस्पर्श र देब्रे हात काखमा उत्तानो पारेर राखिएको हुन्छ ।
३. धर्मचक्र हस्त मुद्रा – सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्तपछि पहिलो पटक सारनाथमा पहिलो उपदेश दिएका थिए । बुद्धको जीवनको मुख्य एक पलको प्रतिनिधित्वस्वरुप यस हस्तमुद्राको रुपमा मूर्तिकलामा दर्शाइएको हुन्छ । “वास्तवमा ज्ञान मुद्रा र व्याख्यान मुद्राको संयुक्त रुप धर्मचक्र मुद्रा हो । ” (क्षेत्री, रायमाझि, वि.सं.२०५६, पृ. ४) ।
४. वरद हस्तमुद्रा – मूर्तिकलामा कुँदिएको वरद हस्तमुद्राले हितकारी मुद्रा सत्कार, दान, मदत, दया, र इमानदारीको प्रतीकात्मक अर्थ दिने गर्दछ । मुद्राहरु आफैमा प्रतीकहरु हुन । यस मुद्रालाई अनुग्रह तथा वर मुद्रा पनि भनिन्छ । हातको सबै औंलाहरुलाई एकअर्कामा जोडेर सिधा तन्काइएको हत्केलालाई भक्तजन वा दर्शकतिर फर्काइएको हुन्छ । यसरी हत्केलालाई उल्टो वा भूँइतिर फर्काइएको हुन्छ । खासमा यो अभय हस्तमुद्राको विपरीत दिशामा फर्काउँदा बन्ने गर्दछ । नृत्यकलामा भने यी दुबै पताक असंयुक्त हस्तमुद्रा हो । यसको विनियोग वा प्रयोग मात्रै भिन्न प्रयोजनको लागि भएको हो ।
५. बज्र हस्तमुद्रा –
६. ज्ञान हस्तमुद्रा – यस मुद्राको प्रयोग पनि लिच्छविकालको मूर्तिकलामा प्रयोग भएको छ । यो असंयुक्त हस्तमुद्रा हो । यस हस्तमुद्रामा कनिष्ठ, अनामिका र मध्यमा औंलाहरु एकअर्कामा जोडिएर सिधा र अंगुष्ठामाथि तर्जनी औंलो टुप्पो जोडेर ज्ञान हस्तमुद्रा बनेको हुन्छ । अभिनयदर्र्पणमा यस मुद्रालाई अराल हस्तमुद्रा भनिएको छ ।
७. वितर्क हस्तमुद्रा – यस मुद्रालाई चीन हस्तमुद्रा पनि भनिन्छ । यो हस्तमुद्रा बुद्धको शिक्षामाथि वहस गरिएको मुद्रा हो ।
८. सिंहमुख हस्तमुद्रा –
९. करण हस्तमुद्रा – शरीरबाट दुष्टात्मा बाहिर निकाल्ने , विमारी, नकरात्मक विचार, बाधा व्यवधानको हटाउने हस्तमुद्रालाई करण हस्तमुद्रा भनी उल्लेख गरिएको छ ।
१०. यसरी बौद्ध देवदेवीहरुको लिच्छविकालका मूर्तिहरुमा शुन्य हस्तमुद्रा, ध्यान हस्तमुद्रा, अञ्जली हस्तमुद्रा, बुद्धश्रवण हस्तमुद्रा, कण्ठी हस्तमुद्रा, जगत हस्तमुद्रा, एक, द्वय, छोटिका हस्तमुद्रा, चण्ड हस्तमुद्रा, बोध्याङ हस्तमुद्रा, ध्यान हस्तमुद्रा, विन्दू हस्तमुद्रा, व्याख्यान हस्तमुद्रा, चक्र हस्तमुद्रा, आकर्षण हस्तमुद्रा, प्रवेश हस्तमुद्रा, वन्धन हस्तमुद्रा, ताषण हस्तमुद्रा, आलिङ्गन हस्तमुद्रा, नृत्य हस्तमुद्रा, मुकुट हस्तमुद्रा, नाग हस्तमुद्रा, आदि संयुक्त र असंयुक्त हस्तमुद्राहरुको प्रयोग गरिएको छ ।
लिच्छविकालका मूर्तिकलामा मात्रै नभएर मल्लकालिन देवालय, मन्दिर, मूर्तिकला, चित्रकला, थाङका, पौभा, टँडाल, तोरण, आदिमा पनि विभिन्न हस्तमुद्राहरु देख्न सकिन्छ । विभिन्न कलामा प्रयुक्त हस्तमुद्राहरुको नृत्यकलामा निमित्त पनि उपयुक्त हुने बज्रधातु देगुली, धर्मधातु देगुली, दुर्गति परिशोधन, समाधी, आदि बौद्ध धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।
हिन्दू देवदेवीहरुको मूर्तिकला लिच्छविकालमा मात्रै नभएर लिच्छविकाल पूर्व, मध्यकाल, शाहकाल र हालसम्म पनि बन्ने क्रम निरन्तर चलिरहेको छ । यी देवदवीका मूर्तिहरुमा प्रयुक्त हस्तमुद्राहरु निम्नप्रकारका रहेका छन ।
१. अञ्जली हस्तमुद्रा – दुबै हत्केलालाई एकआपासमा जोडेर नमस्कार अवस्थामा रहेको संयुक्त हस्तमुद्रा हो । यसलाई वन्दनी मुद्रा पनि भनिन्छ । हिन्दू र बौद्ध देवदेवीहरुको मूर्तिकलामा अञ्जली हस्तमुद्राको प्रयोग गरिएको हुन्छ । नेपालमा लिच्छविकालका मूर्तिकलामा यस हस्तमुद्राको प्रयोग गरिएको छ ।
२. काट्यवलम्वित हस्तमुद्रा – दुबै हातलाई कम्मरमा आरामसाथ राखिएको संयुक्त र असंयुक्त हस्तमुद्रालाई काट्यवलम्वित हस्तमुद्रा भनिन्छ ।
३. तर्जनी हस्तमुद्रा – हातको कनिष्ठ, अनामिका, मध्यमा र अंगुष्ठ औंलाहरुलाई हत्केलातिर बन्ध तथा तर्जनी औंलालाई सिधा गर्दा तर्जनी मुद्रा बन्दछ । अभिनयदर्पणमा यस हस्तमुद्रालाई सूची हस्तमुद्रा भनेर उल्लेख गरिएको छ ।
४. गजहस्त मुद्रा – यस हस्तमुद्रालाई नृत्यमुद्रा भनेर पनि भनिन्छ । यो संयुक्त हस्तबाट बनेको मुद्रा हो । विशेषगरी नटराजको हस्तमुद्रामा गजहस्तमुद्राको प्रयोग गरिएको हुन्छ ।
यसका साथै देवीदेवताहरुले आ–आफ्नो आयुधहरु लिएका हुन्छन । यसरी आयुधहरुलाई मुष्टि हस्तमुद्रा, सिंहमुख हस्तमुद्रा, मृगशीर्ष हस्तमुद्रा, शिखर हस्तमुद्रा, कर्कट हस्तमुद्रा, अदिको पनि मूर्तिकलामा प्रयुक्त भएको छ ।
असंयुक्त हस्तमुद्रा र विनियोग
विशेषगरी शास्त्रीय नृत्यहरुमा अभिनयदर्पणमा उल्लेख गरिएको असंयुक्त हस्तमुद्रा साधनको रुपमा प्रयोग गरिन्छ । अभिनयदर्पणमा एकल हातबाट निर्मित ढाँचाहरुलाई असंयुक्त हस्तमुद्रा भनिएको छ । असंयुक्त हस्तमुद्राहरु २८ किसिमको उल्लेख गरिएको छ । लिच्छविकालका मूर्तिहरुमा पनि असंयुक्त हस्तमुद्राहरुको प्रयोग गरिएको छ ।
पताकस्त्रिपताकोऽअर्धपताकः कर्तरीमुखः ।
मयूराख्योऽर्धचन्द्रशच अरालः शुकतुण्डकः ।।८९।।
मुष्टिश्च शिखराख्यश्च कपित्थः कटकामुखः ।
सूचीचन्द्रकला पद्यकोशः सर्पशिरस्तथा ।।९०।।
मृगशीर्षः सिंहमुखः कांगुलश्चालपद्यकः ।
चतुरो भ्रमरश्चैव हंसास्यो हंसपक्षकः ।।९१।।
संदंशा. मुकुलश्चैव ताम्रचूडस्त्रिशूलकः ।
इत्यसंयुक्तहस्तानामष्टाविंशतिरीरिता ।।९२।।
“असंयुक्त हस्तमुद्राहरुको २८ प्रकारको बताइएको छ । जसको नाम १. पताक, २. त्रिपताक, ३. अर्धपताक, ४. कर्तरीमुख, ५. मयूर, ६. अर्धचन्द्र, ७. अराल, ८. शुकतुण्ड, ९. मुष्टि, १०. शिखर, ११. कपित्थ, १२. कटकामुख, १३. सूची, १४. चन्द्रकला, १५. पद्यकोश, १६. सर्पशिर, १७. मृगशीर्ष, १८. सिंहमुख, १९. कांगुल, २०. अलपद्म, २१. चतुर, २२. भ्रमर, २३. हंसास्य, २४. हंसपक्ष, २५. संदंश, २६. मुकुल, २७. ताम्रचूड र २८. त्रिशुल ।” (गैरोल, ई.सं. १९६७,पृ. २१२) ।
यी २७ ओटा असंयुक्त हस्तमुद्राहरुको भिन्न भिन्न विशिष्ट अर्थ निश्चित गरिएको छ । सबै मुद्राहरुको विनियोग वा प्रयोगको बारेमा पनि विवेचना गरिएको छ । हस्तमुद्राहरुको विनियोग खासमा प्रतीकात्मक हुने गर्दछन । यसरी हस्तमुद्राहरु प्रतीकवादको रुपमा नृत्यकलामा व्यापक प्रयोग गरिएको छ । त्यसैगरी मूर्तिकलामा पनि हस्तमुद्राहरुको प्रतीकात्मक विशिष्ट अर्थहरु रहेको छ ।
संयुक्त हस्तमुद्रा र विनियोग
विशेषगरी शास्त्रीय नृत्यहरुमा अभिनयदर्पणमा उल्लेख गरिएको संयुक्त हस्तमुद्रालाई साधनको रुपमा प्रयोग गरिन्छ । अभिनयदर्पणमा दुबै हातको संयुक्त ढाँचाहरुलाई संयुक्त हस्तमुद्रा भनिएको छ । आचार्य नन्दिकेश्वरले संयुक्त हस्तमुद्रा २३ प्रकारको उल्लेख गरेका छन । यसैगरी मूर्तिकलामा पनि संयुक्त हस्तमुद्राहरुको प्रयोग गरिएको छ । संयुक्त हस्तमुद्राहरु निम्नानुुसार रहेका छन । अभिनयदर्पणको श्लोक १७२, १७३, १७४ र १७५ मा संयुक्त हस्तमुद्राहरुको उल्लेख गरिएको छ ।
अञ्जलिश्च कपोतश्च कर्कटः स्वस्तिकस्तथा ।।१७२।।
डोलाहस्तः पुष्पपुट उत्सङ्गः शिवलिङ्गकः ।
कटकावर्धनश्चैव कर्तरीस्वस्तिकस्तथा ।।१७३।।
शकटं शङ्खचक्रे च सम्पुटः पाशकीलकौ ।
मत्स्यः कूर्मो वराहश्च गरुडो नागबन्धकः ।।१७४।।
खट्वा भेरुण्ड इत्येते संख्याता संयुताः कराः ।
त्रयोविंशतिरित्युक्ताः पूर्वगैर्भरतादिभिः ।।१७५।।
आचार्य भरत र अन्य आचार्यहरुको मतानुसार नन्दिकेश्वरले १. अञ्जली, २. कपोत, ३. कर्कट, ४. स्वस्तिक, ५. डोला, ६. पुष्पपुट, ७. उत्सङ्ग, ८. शिवलिङ्ग, ९. कटकावर्धन, १०. कर्तरीस्वस्तिक, ११.शकट, १२. शङ्ख, १३. चक्र, १४. सम्पुट, १५. पाश, १६. कीलक, १७. मत्स्य, १८. कूर्म, १९. वराह, २०. गरुड, २१. नागबन्ध, २२. खट्वा र २३. भेरुण्ड गरी २३ प्रकारको संयुक्त हस्तमुद्राहरुको उल्लेख गरिएको छ । साथै यी मुद्राहरुको प्रयोग वा विनियोगहरुको वर्णन गरिएको छ ।
देवहस्तमुद्रा र विनियोग
संयुक्त र असंयुक्त हस्तमुद्राहरुबाहेक पनि नाट्यशास्त्र र अभिनयदर्पणमा अन्य हस्तमुद्राहरुको पनि वर्णन गरिएको छ । तर नृत्यकलामा यस मुद्राहरु साधनको रुपमा कम प्रयोग गरिन्छ । त्यसमध्ये देवहस्तमुद्रा पनि हो । विभिन्न देवीदेवताहरुको अभिनय तथा नृत्य प्रस्तुतिका लागि देवहस्तमुद्रालाई प्रस्तुत गरिन्छ । मूर्तिकलामा पनि देवीदेवताहरु कै प्रतिमा बनाइने हुँदा मूर्तिकलामा प्रयुक्त देवहस्तमुद्रा र नृत्यकलामा प्रयुक्त देवहस्तमुद्राहरुबिच सम्बन्ध रहेको पाइन्छ । त्यस्ता देवहस्तमुद्राहरु निम्नानुसार रहेका छन ।
१. ब्रह्म हस्त – हिन्दूहरुको त्रिदेव मध्ये सृष्टिकर्ता ब्रह्मको हस्तमुद्रालाई “ब्रह्मणश्चतुरो वामे हंसास्यो दक्षिणे करः ।” (गैरोल, ई.सं. १९६७,पृ. २३६) । ब्रह्मको हस्तमुद्राहरुमा देब्रे हात चतुर तथा दाहिने हात हंसास्य असंयुक्त हस्तमुद्राहरुमा प्रस्तुत गरिन्छ ।
२.शङ्कर हस्त – हिन्दूहरुको त्रिदेवमध्ये प्रलयकर्ता आराध्यदेव भगवान शङ्करको हस्तमुद्रा देखाउन “शम्भोर्वामे मृगशीर्षस्त्रिपताकस्थु दक्षिणे ।।२०५।।” (गैरोल, ई.सं. १९६७,पृ. २३६) । शङ्कर भगवानलाई प्रस्तुत गर्दा बाँया हात चतुर तथा दाँया हंसास्य असंयुक्त हस्तमुद्रामा प्रस्तुत गरिनु पर्ने भनिएको छ ।
३. विष्णु हस्त – यस सृष्टिको पालनकर्ता भगवान विष्णुको हस्तमुद्रा “हस्ताभ्यां त्रिपताकस्तु विष्णुहस्तः स कीर्तितः ।” (गैरोल, ई.सं. १९६७,पृ. २३७) । अर्थात दुबै हस्तहरु त्रिपताक असंयुक्त हस्तमुद्रा हुने भनेर वर्णन गरिएको छ ।
४. सरस्वती हस्तमुद्रा – विद्याकी भगवती देवी सरस्वतीलाई “सूचीकृते दक्षिणे च वामे चांससमकृतौ ।”(गैरोल, ई.सं. १९६७,पृ. २३७) । वा दाँया हात सूची र बाँया हात कपित्थ असंयुक्त हस्तमुद्रामा प्रस्तुत गर्नुपर्ने भनिएको छ ।
५. पार्वती हस्तमुद्रा – “उध्र्वाधः प्रसूतावर्धचन्द्राख्यो वामदक्षिणे ।। २०७।। अभयो वरदश्चैव पार्वत्या कर ईरितः ।”(गैरोल, ई.सं. १९६७,पृ. २३७) । अर्थात भगवती पार्वतीको दाँयाहात र बाँया हात दुुबैमा अर्धचन्द्र असंयुक्त हस्तमुद्रा प्रस्तुत गरिने उल्लेख गरिएको छ ।
६. लक्ष्मी हस्तमुद्रा – धनकी देवी लक्ष्मीलाई देवहस्तमुद्रामा “अंसोपकण्ठे हस्ताभ्यां कपित्थस्तु श्रियः करः ।।२०८।।”(गैरोल, ई.सं. १९६७,पृ. २३७) । दुबै हात काँधको समानान्तर रहने गरी दुबै हातहरु कपित्थ असंयुक्त हस्तमुद्रामा दर्शाइने उल्लेख गरिएको छ ।
७. गणेश हस्तमुद्रा – अभिनयदर्पणमा गणेश भगवानको हस्तमुद्रालाई “उरोगताभ्यां हस्ताभ्यां कपित्थो विघ्नराट् करः । ” भनेर उल्लेख गरिएको छ । यसरी भगवान विनायकको देवहस्तमुद्रा दुबै हात कपित्थ असंयुक्त हस्तमुद्रालाई वक्षस्थलमा प्रस्तुत गर्ने गरिन्छ ।
८. कार्तिकेय हस्तमुद्रा – “वामे करे त्रिशुलञ्च शिखरो दक्षिणे करे ।।२०९।। उध्र्व गते पण्मुखस्य हस्तः स्यादिति कीर्तितः ।” (गैरोल, ई.सं. १९६७,पृ. २३८) । भनेर कार्तिकेय वा भगवान कुमारजीको देवहस्तमुद्राको वर्णन गरिएको छ । अभिनयदर्पणका अनुसार कार्तिकेयको वाँया हातमा त्रिशुल र दाँया हात शिखर असंयुक्त हस्तमुद्राको प्रदर्शन गरिन्छ ।
९. कामदेव हस्तमुद्रा – नन्दिकेश्वरकृत अभिनयदर्पणमा “वामे परे तु शिखरो दक्षिणे कटकामुखः ।।२१०।। मन्मथस्य करः प्रोक्तो नाट्यशास्त्रार्थकोविदैः ।”(गैरोल, ई.सं. १९६७,पृ. २३८) । भनेर मन्मथ वा कामदेव हस्तमुद्राकोबारेमा बताइएको छ । दाँया हात शिखर र वाँया हात कटकामुख असंयुक्त हस्तमुद्राले कामदेवहस्तमुद्रा जनाउने उल्लेख गरिएको छ ।
१०. इन्द्र देवहस्त – नन्दिकेश्वरकृत अभिनयदर्पणमा “त्रिपताकः स्वस्तिकश्च शतहस्तः प्रकीर्तितः ।।२११।। (गैरोल, ई.सं. १९६७,पृ. २३८) ।अर्थात एउटा हात त्रिपताक र अर्को हात स्वस्तिक असंयुक्त हस्तमुद्रा हुने बताइएको छ । इन्द्रदेवको यही हस्तमुद्रामा भाव प्रकट गरिन्छ । मूर्तिकलामा पनि इन्द्रदेवको हस्तहरु यसरी प्रकट गरिएको पाइन्छ ।
यसरी नै अग्नी, यम, निऋति, वरुण, वायु, कुबेर, आदि देवताहरुको देवहस्तमुद्रा भरतको नाट्यशास्त्र र नन्दिकेश्वरको अभिनयदर्पणलगायतको अन्य आचार्यहरुले उल्लेख गरका छन ।
दशावतार हस्तमुद्रा र विनियोग
भगवान विष्णुको दशावतारसम्बन्धि हस्तमुद्राहरुको उल्लेख विशेषगरी नन्दिकेश्वरकृत अभिनयदर्पणको श्लोक २१६ देखि २२५ सम्म वर्णन गरिएको छ । मत्स्य भगवान विष्णुको पहिलो अवतार हो । यस अवतारमा मत्स्य संयुक्त हस्तमुद्राबाट प्रदर्शन गरिने बताइएको छ । दोस्रो कुर्मावतारलाई कुर्म संयुक्त हस्तमुद्रामा देखाइने गरिन्छ । त्यसैगरी वराह संयुक्त हस्तमुद्रालाई देखाइने गरिन्छ । वाँया हात सिंहमुख र दाँया हात त्रिपताक असंयुक्त हस्तमुद्राले नरसिंहावतार हस्तमुद्रा देर्शाइन्छ । वामन अवतारको लागि दुबै हात मुष्टि असंयुक्त हस्तमुद्रामा प्रदर्शन गरिने उल्लेख गरिएको छ ।
यसैगरी वाँया हातलाई कम्मर र दाहिने हातलाई अर्धपताकमुद्राद्वारा परशुरामावतार हस्तमुद्रा हुने गर्दछ । “कपित्थो दक्षिणे हस्ते वामे तु शिखरः करः । उध्र्व घृतो रामचन्द्रहस्त इत्युच्यते बुधैः।।२२२।।” (गैरोल, ई.सं. १९६७,पृ. २४१) । यदि दाँया हात कपित्थ र वाँया शिखर असंयुक्त हस्तमुद्रामा उठाएमा रामचन्द्रदेवातार हस्तमुद्रा हुने उल्लेख गरिएको छ । दाहिने हात पताक र देब्रे हात मुष्टि असंयुक्त हस्तमुद्राबाट बलरामावतार हस्तमुद्रा हुन्छ । भगवान कृष्णलाई अभिनयदर्पणमा “मृगशीर्षे तु हस्ताभ्यामन्योनयाभिमुखे कृते । आस्योपकण्ठे कृष्णस्य हस्त इतयुच्यते बुघै? ।।२२४।। (गैरोल, ई.सं. १९६७,पृ. २४१) । भनेर उल्लेख गरिएको छ । यदि दुबै हातले मृगशीर्ष असंयुक्त हस्तमुद्रा प्रस्तुत गरेमा कृष्णावतार हस्तमुद्रा हुनेछ । अन्त्यमा कल्की अवतारको लागि बाँया हात पताक र दाँया हात त्रिपताक मुद्रामा स्थित हुने गर्दछ ।
लिच्छविकालमूर्तिहरुमा दशावतारसँग सम्बिन्धित मूर्तिहरु पनि रहेका छन । यी मूर्तिहरुमा आयूधहरुलाई हातले समातेको मुद्राहरुको अध्ययन गर्दा असंयुक्त, संयुक्त, देवहस्त र दशावतारहस्त मुद्राहरुको शास्त्रीय उल्लेख अनुसारको भेटिन्छ ।
नेपाली मूर्तिकलाको उत्कृष्टतालाई साकार गर्ने केही तत्वहरुमध्ये शास्त्रीय आङ्गिक नापको अनुपात एक प्रधान तत्व हो । “मूर्ति वा सालिक बनाउँदा फोटो वा मोडल राखेर मूर्ति वा सालिकको रुप बनाउनु पर्दछ । …नमुना लाई अगाडि राखेर नाप्दै बनाउनु पर्दछ । सम्बन्धित व्यक्तिलाई बारम्बार हेर्नु पर्दछ ।” क्यानभास, वर्ष २, अंक २१ २०६२ श्रावण ३१ सोमबार । मोडल भएमा मोडललाई फोटो भएमा अरुसँग अवलोकन गर्न लगाउनु र राय लिनु पर्दछ । यसरी मूर्तिकला र मोडल वा नृत्यकलाबिच अन्योन्याश्रित सम्बन्ध देखिन्छ । मूर्तिकारले ढुङ्गामा रेखाचित्र कोर्न मोडललाई अगाडि राखेर रेखाहरुको अवलोकन गर्नु पर्दछ । हालको मूर्तिकलामा पनि यो अभ्यास देखिन्छ । अनि मात्रै कोरा सालिक वा मूर्तिमा स–सानो पक्षमा विस्तृतमा कार्य गरिन्छ ।
जातीय र कर्म हस्तमुद्रा
विभिन्न जातीय तथा वर्णहरुको हस्तमुद्राहरुमा राक्षस हस्त, ब्राह्मण हस्त, क्षत्रिय हस्त, वैश्य हस्त, शुद्र हस्त, आदिको हस्तमुद्राहरु रहेका छन । यी हस्तमुद्राहरुको स्वरुप, प्रयोग, विशेषता र संरचनाहररुको उल्लेख विभिन्न नृत्याचार्यहरुले गरेका छन । यसैगरी कर्मका आधारमा पनि हस्तमुद्राहरुको उल्लेख गरिएको छ । कर्महस्तमुद्राहरुमा १८ जातिले गर्ने कर्मका आधारमा दम्पतिहस्तमुद्रा र यसको विनियोग, मातृ हस्तमुद्रा र यसको विनियोग, पितृ हस्तमुद्रा र यसको विनियोग, श्वश्रू हस्तमुद्रा, श्वशुर हस्त, भर्तृभ्रातृ हस्त, ननान्दृ हस्त, पुत्र हस्त, स्नपा वा पुत्रवधू हस्त, सपत्नी वा सौता हस्त आदि हस्तमुद्रा र त्यस हस्तमुद्राहरुको विनियोग पनि उल्लेख गरिएको छ ।
नवग्रह हस्तमुद्रा
नवग्रहलाई पनि मानवीकृत गरेर नृत्यकलाको रुपमा प्रस्तुत गर्ने परिकल्पना प्राचीनकालदेखि नै भएको देखिन्छ । विभिन्न नृत्याचार्यहरुले नवग्रहसम्बन्धि नृत्यहरुको उल्लेख गरेका छन । यसरी नवग्रहको नृत्य प्रस्तुत गर्ने क्रममा प्रयुक्त हस्तमुद्राहरुको बारेमा उल्लेख गरिएको छ । त्यस्ता हस्तमुद्राहरुमा सूर्य हस्त, चन्द्र हस्त, कुज वा मंगल हस्त, बुध हस्त, गुरु हस्त, शुक्र हस्त, शनि हस्त, राहू हस्त र केतु हस्तको परिभाषा र विनियोगबारे चर्चा गरिएको छ ।
अनुसन्धाता ः सिर्जना कलेज अफ फाइन आर्टस, लाजिम्पाटमा प्रध्यापनरत तथा विभागीय प्रमुख नृत्य तथा संगीत विभाग हुनुहुन्छ ।
More Stories
हो रेशो ङिमटेसी नाच
श्यप्रे लु नाच
फुटुक नाच