हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

झारपात माथिको चिन्तन

राम कुमार राई

मानव जातिले आफ्नो विकासक्रममा विभिन्न अभ्यासहरु प्रयोग गरी प्राप्त अनुभवलाई ज्ञान विज्ञान बनाएको भेटिन्छ ।

त्यसलाई मौलिक ज्ञान वा लोक ज्ञान भनिन्छ ।

यीमध्ये घरेलु औषधिको प्रयोग पनि लोक ज्ञानमध्ये एक हो ।

जुन लोक ज्ञान अहिले बिर्सिदै गएको अवस्था छ ।

यस्ता जडिबुटीको प्रयोग अहिलेको पुस्तालाई त थाह नै छैन ।

केही झारपात र यसको उपयोगिताहरु निम्न प्रकारका हुन्छन ।

१) तितेपाती – शरीर चिलाउँदा, कुनै चोटपटक लागेमा, सिँया, वायु, जागित्रा लागेमा तितेपातीको मुन्टा, पात, डाँठ, आदिको प्रयोग गरिन्थ्यो ।

२) बनमारा – शरीरमा चोटपटक लागेर रगत बग्दा रगत रोक्न पात र मुना प्रयोग गरिन्थ्यो

३) ईलामे – शरीरमा चोटपटक लागेर रगत बग्दा रगत रोक्न ईलामेको पात र मुना प्रयोग गरिन्थ्यो ।

४) अबिजाले – पिनास र रुघालागेमा अबिजाले झारको प्रयोग गरिन्थ्यो ।

५) भ्रमरे झार – पिनास र रुघालागेमा भ्रमरे झारको जरा प्रयोग गरिन्थ्यो ।

६) सिरु – जुका र चुर्ना परेमा सिरुको टुसा र जराको प्रयोग गरिन्थ्यो ।

७) ऐँशेलु – टन्सिल भएमा ऐँशेलुको मुनाको सेवन गरिन्थ्यो ।

८) अम्बा – पखाला लागेमा अम्बाको पात तथा बोक्राको सेवन गरि उपचार गरिन्थ्यो ।

९) हलेदो – उल्टी वा छादने भएमा हलेदोको प्रयोग गरिन्थ्यो ।

१०) मलिबाँसको मुना – निमोनिया भएमा मलिबाँसको मुनाको झोल सेवन गरिन्थ्यो ।

११) गाँजा – पशुहरुलाई पखाला लागेका गाँजाको प्रयोग गरिन्थ्यो ।

१२) गुराँसको फूल – माछाको काँडा घाँटीमा अड्किएमा गुराँसको फूल सेवन गरिन्थ्यो ।

१३) हर्चुर – हड्डी भाँचिएमा हर्चुर लगाएर काम्रो बाँधिन्थ्यो ।

१४) बेसार – लागुभागु लागेमा बेसारको धुलो प्रयोग गरिन्थ्यो ।

१५) कुकुर डाइना – गर्भ पतन तथा परिवार नियोजनको लागि कुकुर डाइनाको तरुल प्रयोग गरिन्थ्यो ।

१६) टिमुर – पेट फुलेमा, भुँडी दुखेमा टिमुरको प्रयोग गरिन्थ्यो ।

१७) मनपाहा – टन्सिल भएमा मनपाहाको काँचो मासुको प्रयोग गरिन्थ्यो ।

१८) पहेँले फल – दाँत किराले खाएमा पहेँले फलको बिँयाको धुँवा लगाएर उपचार गरिन्थ्यो ।

१९) सुर्ती – घाँउमा किरा परेमा काँचोपात वा सुर्तीको झोल प्रयोग गरिन्थ्यो ।

२०) अम्लिसो – पिलो आएमा अम्लिसोको जरा घोटेर लगाइन्थ्यो ।

२१) खरानी – पेटमा जुका आँउ परेमा फूल खरानीको सेवन गरिन्थ्यो ।

२२) चिप्लेकिरा – हाँड भाँचिएमा जिउँदो चिप्लेकिराको सेवन गरिन्त्ज्यो ।

२३) कुकुरको दिशा – विष वा बिख परेमा कुकुरको आलो दिशा खुवाइन्थ्यो ।

३३) लहरे ऊन्यु – जनै खटिरा आएमा लहरे ऊन्यु प्रयोग गरिन्थ्यो ।

२४) पहेँले झार – जन्डिस भएमा पहेँले झारको जरा सेवन गरिन्थ्यो ।

२५) गड्यौला – निमोनिया भएमा केराको थाम्बाभित्र बस्ने गड्यौला सेवन गरिन्थ्यो ।

२६) अडेरी – लुतो आएमा अडेरीको मुना प्रयोग गरिन्थ्यो ।

क्रमशः आदि आदि औषधोपचारसम्बन्धि लोक ज्ञान अहिले लोप प्राय भैसकेको अवस्था छ ।