हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

फोटो: टोम ब्रुकोवर

राम कुमार राई

मानवले आफ्नो जातिको उदविकासको क्रममा अनगिन्ती मूर्त तथा अमूर्त वस्तुहरुको निर्माण वा सिर्जनाहरु गरे। ती समग्र सिर्जनाहरुलाई नै संस्कृति भनिन्छ। मानिसमा कल्पनाशक्ति, अनुकरण शिल्प र सिर्जनात्मक क्षमता वयस्क भएपछि मात्रै आउने नभएर बाल्यकाल देखि नै हुन्छ। अझ यस्ता गुण र क्षमताहरु बालबालिकामा धेरै हुन्छ। ठूलो भएपछि सामाजिक बन्धनहरुले सिर्जनात्मक क्षमतालाई नियन्त्रण गर्ने गर्छ।

उदाहरणको रुपमा बालबालिकाले खेल्ने खेलहरुलाई लिन सकिन्छ। किनकि ती खेलहरु बालबालिकाले नै सिर्जना गरि खेल्न सुरु गरेको र अर्को पुस्ताहरुको बालबालिकामा हस्तान्तरण हुँदै आएको हुनसक्छ। यस्ता खेलहरुमा निश्चित नियमहरु बनाएका हुन्छन। यी नियमहरु उनीहरूले नै बनाएको हुन सक्ने संभावना धेरै छ। तर, प्रविधिको द्रुत बिकास र पहुँचका कारण परम्परागत बालबालिकाको खेलहरु बालबालिकाले बिर्सदै गएको अवस्था छ। अबको एक दुई पुस्तापछि यस्ता बालखेलहरु पूर्ण हराएर जाने निश्चित प्राय छ।

१) भाले जुधाई खेल

खेलाडी छनोट :- खेल सुरु गर्नुभन्दा अगाडि दुई जना क्याप्टेनहरु सर्वसम्मत स्वीकार गरिन्छ। क्याप्टेनको कार्य अन्य खेलाडीहरु रोज्ने हो। त्यसपछि जोडी /जोडी बनेर भौतिक वा अभौतिक बस्तुको नामहरु वा बस्तु नै गोप्यगरि लुकाएर ल्याई क्याप्टेनहरुलाई छनोट गर्न लगाइन्छ। प्रत्येक जोडी खेलाडी क्याप्टेनले थाहा नपाउने गरि आ-आफ्नो छनोट चिन्ह बाँडफाँड गरि आउछन् र छनोटको विकल्प दिइनेछ। जस्तो कि गोप्य रुपमा एक जनाले घाम र अर्को जनाले जून संकेत लिएर क्याप्टेनहरु समक्ष भन्छन “घाम कि जून?” अनि एक जना क्याप्टेनले घाम वा जून छनोट गर्नु पर्छ। त्यो खेलाडी उसको समूहमा छनोट हुन्छ। प्रत्येक जोडीलाई क्याप्टेनहरुले पालैपालो छनोट गर्छन। यसरी जोडी बनाउँदा उस्तै क्षमता भएकालाई बनाइन्छ।

२) भाले जुधाई खेलको नियमहरु निर्धारण:-

यसरी समूह छनोट गरिसके पछि खेलको नियमहरुमा सहमति गरिन्छ। एक हात वा दुई हातले खुट्टाको औंला समाउने? खुट्टाको औंला समाउने कि पुरै पाइतला समाएर खेल्ने? एक हातले खुट्टाको बुढीऔंला समाएर त्यो हातको बुढीऔंला अर्को हातले समाउने कि नाडीमा समाउने? चप्पलको फित्तामा समाउन पाउने कि खाली खुट्टा? घुँडाले हान्न पाउने कि नपाउने? ठेलेर अखडाबाट निकाल्न पाउने कि नपाउने? के के गरेमा खेलबाट आउट हुने? आदि कुराहरुमा सहमति भैसके पछि भालेजुधाई खेल सुरु हुन्छ।

त्यसपछि पसिनाले हात चिप्लिन्छ भनेर हातमा धुलो लगाई भालेजुधाई खेल खेल्न सुरु गरिन्छ। केहि वर्ष अगाडिसम्म गाउँघरतिर बालबालिकाहरु भालेजुधाई खेल खेलेको देख्न पाइन्थ्यो। तर, आजभोलि देख्न पाइन्न।