हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

एलेले किराको एआइद्वारा उत्पादित तस्विर

राम कुमार राई

उहिले खार्तम्छा भन्ने गाउँमा एलेले भन्ने एक किराँती दम्पती बस्थ्यो। एलेले एक नामुद शिकारी थियो। अनि ज्यादै दयालु पनि थियो।एलेले आफ्नो जहानलाई अति नै माया गर्थ्यो। श्रीमतीलाई सुखसँग राखेको थियो।

तर उनीहरू नि:सन्तान थिए। यस कुराले उनीहरू भने दुखी थिए। त्यसैले एलेले साह्रो गाह्रो पर्दा छरछिमेकहरुको सहयोग चाहिन्छ।

हाम्रो त सन्तान नभएकोले झन धेरै छरछिमेकी चाहिन्छ भन्थे। त्यसैले शिकार मारेर आएपछी आधा भाग चैँ छरछिमेकको लागि छुट्याएर डालोमा राखी श्रीमतीलाई बाँडेर आउन भन्थ्यो।

श्रीमती ज्यादै लोभी थिइन। मुल ढोकाबाट मासु सहितको डालो लिएर निस्के पनि छिमेकीलाई नदिई एकैछिनमा जस्केलाबाट फिर्ता लिएर आउँथी।

अनि सबैलाई बाँडे भनेर श्रीमानसँग भन्थी। छरछिमेकीलाई दिएर पठाएको शिकारी भाग घरमा नै फिर्ता आइपुगेको एलेले लाई थाहै हुन्नथ्यो।

बिहानदेखि बेलुकासम्म जंगल मै शिकार खेलेर समय बित्ने भएकोले उसलाई घरको केही थाहा हुन्नथ्यो। छरछिमेकी नातानालाहरु भने त्यति धेरै शिकार मारे पनि एलेले ले आफुहरुलाई एक चोक्टा पनि नबाँडेकोमा रिसाएका थिए। एकहिसाबले छरछिमेक र एलेलेको घरबिच सम्बन्ध नै थिएन।

दिनहरु बित्दै गयो। एक दिन सधैं झैँ एलेले बिहान झिसमिसेमा नै शिकार खेल्न जंगल तिर गयो। तर साँझमा घर फर्किएन।

एलेले घर नफर्केकोमा श्रीमती आत्तिए। छरछिमेकसँग सहयोग मागिन। तर छरछिमेकी कसैले पनि सहयोग गरेनन।

बरु मनमनै खुच्चिङ्ग भन्यो। अनि आफु एक्लै एलेले खोज्न निस्की।खोज्दै जाँदा एलेले शिकार खेल्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएको अवस्थामा भेटिए।

डोकोमा हालेर बोक्न खोजी तर ज्यादै सुन्निएको गह्रौं एलेलेको शरीर उठाउन पनि सकिन। जंगलबाट नै हारगुहार मागी। तर कोहि पनि सहयोग गर्न आएन। रातभरि श्रीमान कुरेर बसी तर उज्यालो हुनु अघि नै एलेलेले त्यही प्राण त्याग गरे।

अन्तिम संस्कार गर्न घर लैजानको लागि सबैसँग अनुनय विनय गरिन। आफुले गरेको गल्तीप्रति माफी मागिन।

रोइकराई बिलौना पनि गरिन। तर एक जानले पनि एलेलेको श्रीमतीलाई सहयोग गरेनन। साउन भदैको दिन मध्याह्न भैसकेको थियो।

गर्मीका कारण झिंगाहरु जम्मा भएर लासलाई खान थलिसकेको थियो।उनले लासलाई गाडन पनि सकिन। अनि सिमलीको रुखको फेदमा डोकोले एलेलेको लास छोपेर “ए! एलेले, ए! एलेले…..” भन्दै रुन थालिन।

रुँदारुँदै श्रीमतीको पनि त्यही मृत्युु भयो। एलेले धर्माती भएकोले भगवानले स्वर्गतिर लग्यो भने उसकी जहानलाई पापी भएकोले नर्क तिर लग्यो।

अर्को जुनीमा एलेलेको श्रीमती चैँ एलेले किरा भएर नर्कमा नै रह्यो। तर साउन भदौको समयमा आफ्नो खसमलाई खोज्दै किराको स्वारुपमा धर्तीमाथि आएर त्यही सिमलीको फेदमा आए “ए! एलेले, ए! एलेले….” भन्दै दिनभरि बोलाइ रहन्छ भन्ने किंवदन्ती छ।

आजभोलि पनि साउन भदौ महिनाको बेला सिमलीको बोटमा बसेर एलेले किरा साह्रै उराठलाग्दो आवाजमा दिनभरि गाउँघरमा कराउँने गर्छ।