Sakela sili
राम कुमार राई
साकेला
किरात राई समुदायको साकेला शब्दले बोक्ने अर्थ, त्यस शब्दको व्युत्पत्ति विषयमा सोधखोज कमै भएको पाइन्छ । कुनै पनि शब्दको वाह्य र आन्तरिक अर्थ हुने गर्दछ ।
किरात राई वान्तवा भाषामा साप्तेन अर्थात दुनियाँ, प्राणिजगत,संसार र केन्वा अर्थात पालक, रक्षक भन्ने दुई स्वतन्त्र शब्दहरुबाट साकेन्वा शब्दको व्युत्पत्ति भएको हो । वान्तवा भाषी राई समुदायको साकेन्वाले चराचर जगलको पालक शक्तिप्रतिको अनुष्ठान गर्ने चाडको रुप मान्न सकिन्छ ।
यस जगतको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्तालाई आराधना गर्न नै साकेन्वाको उदेश्य रहेको छ । त्यस्ता शक्तिलाई शिलाको प्रतिकात्मक प्रतिस्थापन गरिएको हुन्छ । त्यस्तो शिलालाई साख्खेवा वा चारी लुङ्ग भनिन्छ ।
सा+केन्+वा तीन शब्दबाट साकेन्वा शब्द बनेको पनि देखिन्छ । जसको अर्थ सा – सायाताली (प्रतिष्ठाको प्रतीक), केन् – ढोलझ्याम्टा बाजा र वा – पानी भन्ने हुन्छ ।
जसको प्रतिष्ठाको प्रतीक धुनर्वाण भिरेर साङ्गीतिक गतिविधिसँगै जीवनको एक आधार पानीको आह्वान गर्दै मनाईने पूजाको रुपमा साकेन्वालाई बुझ्न सकिन्छ ।
कोयू राई भाषाको सा र केल दुई फरक शब्दहरुबाट साकेल शब्दको उत्पत्ति भएको हो ।
जसको अर्थ सा – सह वा चासुम र केल – संरक्षक भन्ने हुन्छ । यसरी जीविकोपार्जनका लागि श्रमबाट गुणात्मक तथा मात्रात्मक वृद्धि भई धनधान्य होस भनेर आध्यात्मिक शक्तिको उपासना गर्नु नै साकेल हो ।
त्यसै गरी स – रुख तथा केल – हाँसखेल गर्नु अर्थात रुखमुनि साङ्गीतिक परिवेशमा मनोरञ्जन गर्दै नाच्नु वा सिली टिप्नु भन्ने अर्थमा पनि साकेललाई बुझिएको छ ।
विभिन्न भाषाभाषी राईहरुले साकेलालाई भिन्न भिन्न नामले पूजा र पूजाविधि गरेपनि उदेश्य भने एकै रहेको छ । यसैले साकेलालाई आध्यात्मिक शक्ति, पितृ, माङ, प्रकृति, आदि जस्ता शक्तिसँग जोडेर विश्लेषण गर्नु पर्दछ । साकेलामा प्रस्तुत गरिने शक्तिप्रदत्त सिलीहरुको मौलिक तत्वहरुको विश्लेषण गर्नु पर्दछ ।
सिली –
सिलीको अर्थ अभिनयात्मक नृत्य हो । साङ्गीतिक माहोलमा आध्यात्मिक विधिविधानसहित शक्ति उपासना गर्दै विभिन्न चालहरुको समग्रता नै सिली हो ।
पितृ र प्रकृतिलाई शक्ति केन्द्रको रुपमा स्थापना गरी आफ्नो मनोकांक्षा प्राप्तिको खातिर पूजा गर्दै सिली नाचिन्छ । पर्यावरणमा गुणात्मक र मात्रात्मक अभिबृद्धि होस भन्ने कामना गरिन्छ ।
यस जगतको सम्पूर्ण प्राणिहरु, टोलाखोला, गाउँवस्ती, भाषाभाषी, आदि सबै रोग, भोक र शोकबाट मुक्त रहोस भन्ने कामना गरिन्छ । नेपाली खस भाषाको नृत्य र अभिनयको अर्थलाई सिली शब्दले जनाउँदछ ।
विभिन्न लोकनाचजस्तो मुक्त अभिनय र नृत्य नभएर चरणबद्ध र सिलसिलबद्ध सुर, ताल र शैलीमा गरिने मुन्धुम विशेषमा आधरित नृत्य शैलीमात्र सिलीहरु हुन ।
यसमा पृथ्वीको उत्पत्तिकालदेखिका मुन्धुमसम्मत कथाहरु जोडेर विभिन्न जीवजन्तु, पशुपंक्षी, स्थान, परिवेश, श्रम, गतिविधि, आदिको अभिनयात्मक नृत्य गरिन्छ ।
किरात राई समुदायको जीवन दर्शन बुझ्नका लागि सिलीहरुको अध्ययन गरेर मात्रै बुझ्न सकिन्छ ।
साकेलालाई विभिन्न नामहरुले चिनिन्छ । जस्तै कुलुङ राई – दोसी, कोइचा÷सुनुवार राई –स्याँदर, कोयी राई –साकेल, खालिङ राई – तोष, थुलुङ राई – तोषी, चाम्लिङ राई – साकेला, वान्तवा राई – साकेन्वा÷साकेवा, याख्या राई – चोसोवा, पुमा राई – साकेन्वा, दुमी राई – साखेल, नेवाहाङ राई – साख्खेवा, वाहिङ राई – वाक्सा, साम्पाङ राई – साख्खेवा, आदि ।
More Stories
मोको जाम्बिज नृत्य
धिमाल ढोल बाद्ययन्त्र
सिलीचुङ्ग हिमाल