हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

खोन राम

रामकुमार राई


खोन राम थाइल्याण्डको मध्यकालनी आयुथया राज्य (१४औं देखि १८औं शताब्दि) देखि प्रदर्शन हुँदै आएको खमेर शास्त्रीय नृत्य हो । थाई भाषामा नृत्यलाई राम भनिन्छ ।


खोन नृत्यको हिन्दू महाकाव्य रामायणको थाई संस्करणको कथानकलाई मुकाभिनय (पेन्टोमाइम), सङ्गीत र सुनको जलप लगाइएको भेषभूषा र गरगहनाहरु मार्फत प्रदर्शन गरिन्छ ।


त्यसैले नर्तक र नर्तकीहरु मौन हुन्छन् । उनीहरु आङ्गिक, सात्विक र आहार्य अभिव्यक्ति र इशाराहरु प्रयोग गर्छन्, भने कथावाचक, कोरस र सङ्गीतमा सहभागिहरु वाचिक अभिनय गर्दछन् ।


यस शास्त्रीय नृत्यमा भगवान विष्णुको अवतार रामलाई फ्रा (वीर पुरुष), सीतालाई नांग सिदा, राक्षस राजा थोत्साकन (रावण), याक (शक्तिशाली राक्षस), लिंग (ऊर्जावान बाँदरहरु), आदि पात्रहरु मार्फत रामायणको कथालाई शाही दरबारमा प्रर्दशन गरिँदै आएको छ ।


यो एक उच्च शैलीको मुकुण्डाधारी नृत्य नाटक हो । प्रदर्शनको क्रममा कथावाचक, कोरस र संवाद बोल्नेहरुले रामायणको खम्फक (पद, श्लोकहरु), र लयबद्ध सेराका (संवाद) हरु पाठ गर्ने गर्छन् ।

सङ्गीत स्कोर पिफट अर्केष्ट्राहरुले गर्दछन् । प्रमुख पात्रहरु फ्रा (राजकुमार राम), नांग सिदा (सीता), आदि कलाकारहरुले मुकुण्डो बिना नै अभिनय र नृत्य गर्दछन् । तर, अन्य पात्रहरु नृत्य प्रदर्शन अवधिभर नै पात्रअनुसारको मुकुुण्डो धारण गर्ने गर्दछन् ।


थाईल्याण्डको प्राचीन शास्त्रीय नृत्यकलालाई मानवताको अमूर्त सांस्कृतिक सम्पदाको युनेस्को प्रतिनिधि सूचीमा सन् २०१८ मा सूचीकृति गरिएको छ ।


नेपाली परम्परागत तथा लोक नृत्यहरुलाई पनि युनेस्कोको अमूर्त सांस्कृति सम्पदाको प्रतिनिधि सूचीमा अंकित गर्न सबैले पहल गरौं ।