हिमालय संस्कृति Himalaya culture

सांस्कृतिक पूनर्जागरण Cultural Renaissance

बौद्धिकहरुले कहिलेसम्म हेरेर बस्ने ?

अमृत खरेल

तपाईँ आफूलाई बौद्धिक मान्नुहुन्छ भने एकपटक यो सन्देश पूरै पढ्नुहोस्!

वाल्टर बेन्जामिन जर्मनीका एक प्रसिद्ध दार्शनिक, साहित्य समालोचक, र सांस्कृतिक चिन्तक थिए। उनले आफ्नो लेखाइमार्फत समाजको गहिरो विश्लेषण गरे पनि प्रारम्भिक समयमा उनी राजनीतिक रूपमा निष्क्रिय देखिए।

बेन्जामिनले १९३० को दशकमा नाजी पार्टीको उदयलाई ठोस रूपमा विरोध गरेनन्। उनी आफ्नो सैद्धान्तिक र साहित्यिक काममा केन्द्रित रहे।

उनले राजनीतिक हस्तक्षेप गर्न ढिलाइ गरे, जसले गर्दा नाजीहरूले शक्ति कडा बनाउँदै गए।

जब नाजीहरूले जर्मनीमा पूर्ण नियन्त्रण गरे, बेन्जामिनलाई यहूदी हुनुको कारण सताइएको थियो।

१९४० मा उनी फ्रान्सबाट भाग्ने क्रममा पक्राउ पर्ने डरले आत्महत्या गर्न बाध्य भए।

उनको दार्शनिक योगदानको पछि अलिकति चर्चा त भयो, तर उनले समयमा बोल्न नसक्दा व्यक्तिगत रूपमा पनि ठूलो दुःख भोग्नुपर्‍यो। जर्मनीले भोगेको दु:ख त आफ्नो ठाउँमा छँदैछ।

यस्तै बेनेडेट्टो क्रोचे इटालीका दार्शनिक र इतिहासकार थिए। उनी लोकतन्त्र र स्वतन्त्रताको पक्षमा थिए तर फासिस्ट शक्तिहरूसँग समयमा विरोध गर्न चुके।

क्रोचेले मुसोलिनीको फासिस्ट पार्टीलाई सुरुवातमा धेरै ठूलो खतरा ठानेनन्।

उनले १९२५ मा “फासिस्ट बौद्धिकहरूको घोषणापत्र” मा हस्ताक्षर गरे, जुन उनको सबभन्दा ठूलो गल्ती मानिन्छ।

उनले राजनीतिक हस्तक्षेप गर्न ढिलाइ गरे र प्रारम्भिक समयमा आफ्नो सामाजिक हैसियत सुरक्षित राख्न प्रयास गरे।

जब उनले फासिस्ट शासनको विरोध गर्न थाले, उनीमाथि सरकारी निगरानी र सेन्सरशिप गरियो।

उनी सामाजिक र बौद्धिक रूपमा अलग्याइए, र यो विलम्बले उनको प्रतिष्ठामा धक्का पुर्‍यायो।

वाल्टर बेन्जामिन र बेनेडेट्टो क्रोचेका कथाहरूले नेपाली बौद्धिकहरूमा समयमा आँखा उघार्न गहिरो शिक्षा दिन्छ। समयमै अन्याय र भ्रष्टाचारको विरोध नगर्दा व्यक्तिगत रूपमा दुःख भोग्नुपर्ने मात्र होइन, समाज पनि दीर्घकालीन रूपमा हानीग्रस्त हुन्छ।

नेपालमा अहिले भ्रष्टाचार, असमानता, र राष्ट्रिय हितको उपेक्षा भइरहेका बेला बौद्धिकहरू आफ्नो व्यवसाय चलेकै छ भनेर मौन बसिरहँदा यसले नेपालको भविष्यलाई गम्भीर खतरा पुर्‍याउँछ। बौद्धिक वर्गले ढिलाइ र अवसरवादलाई त्यागेर आफ्नो आवाज बुलन्द गर्न नसके तपाईँलाई सार्वजनिक बौद्धिक भनिने अधिकार छैन।

यस्ता मान्छे खासमा बौद्धिक होइनन् :

1. अन्याय र भ्रष्टाचारका विरुद्ध आवाज नउठाउने।

2. व्यक्तिगत लाभको लागि मौन बस्ने।

3. देशको सार्वभौमिकता र स्वाभिमानको बेवास्ता गर्ने।

नेपाली बौद्धिकहरूले समयमै आफ्नो भूमिका निर्वाह नगरे ढिलाइको परिणाम बेन्जामिन र क्रोचेजस्तो दुःखद हुन सक्छ।चेतना भया!